सरकार आखाँ कान बन्द गरेर बसेको छ – नेता सिटौला

बिराटनगर, १८ बैशाख । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाकै चियामजदुर एक महिनादेखि भोकभोकै पर्दासमेत सरकार आँखा र कान बन्द गरेर बसेको बताएका छन् ।

अन्तर्राष्ट्रय मजदुर दिवशका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ र मोरङ कार्यसमितिले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले भने,‘‘प्रधानमन्त्रीको जिल्लाका चिया मजदुर ज्याला माग्दै आन्दोलनमा उत्रिएको एक महिना भइसक्यो तर प्रधानमन्त्री आँखा र कानु थुनेर बस्नु भएको छ ।’’ सिटौलाले आँखा र कान बन्द गरेर सरकार नचल्ने बताए ।

सरकार गठन भएको एक वर्षको अवधिमा श्रमिकहरुले अनुभव गर्ने गरी काम गर्न नसकेको आरोप लगाउँदै सिटौलाले श्रम ऐन आएपनि लागू गर्न नसक्नु सरकारकै कमजोरी भएको जिकिर गरे ।

प्रधानमन्त्रीलाई आँखा खोल्न सिटौलाले आग्रह गरे । संविधानले गरेको व्यवस्थालाई नै स्वयं सरकारले नै उल्लंघन गरेको बताउँदै नेपाली कांग्रेसको संगठन निर्माणमा ट्रेड युनियनलाई १० प्रतिशत दिइने भनी गरेको सम्झौता पूर्ण रुपमा लागू गराउने प्रतिबद्धता जनाए ।

कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले वर्तमान सरकार ठूला ठूला भाषणबाजी मा नै सिमित रहेको भन्दै श्रमिकका हक, अधिकार स्थापित गर्न सम्पूर्ण श्रमिकहरु एक भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । वर्तमान सरकारले गरेको पछिल्लो गतिविधिले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष ज्योति कोइराला, प्रदेश नम्बर १ का नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की,नेपाल ट्रेड युनियन महासंघ प्रदेशन नम्बर १ का अध्यक्ष नारायणबाबु कार्की, जिल्ला सचिव नागेश कोइराला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले श्रम आयोग स्थापना गर्नुपर्ने बताउदै मजदुरहरुको हक अधिकारका लागि वर्तमान सरकार मजदुर मैत्री नभएको आरोप लगाए ।

यसअघि देवकोटा चौकबाट निस्किएको र्याली विराटनगरको शनसारीमाईस्थानमा आई सभामा परिणत भएको थियो । सभामा नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश अध्यक्ष नारायाणबाबु कार्की, मोरङ अध्यक्ष सुशील कोइरालालगायतले श्रमको अवमूल्यन भईरहेकोमा चिन्ता व्यक्त गरे ।