तनहुँमा मजदुर दिवसको नारा : ‘पार्टी फोर्न पाइँदैन’

पोखरा, बैशाख १८ । मे १ को अवसरमा बुधबार देशभर मजदुर दिवस मनाइँदैछ । ‘संसारका मजदुर एक हौँ’ भन्ने नारासहित मजदुर संघर्षको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । तर, तनहुँमा भने मजदुर दिवसको दिन ‘संसारका मजदुर एक हौँ’ नभई ‘पार्टी फोर्न पाइँदैन्’ भन्ने नारा घन्कियो । यो नारा कांग्रेसको जागरण अभियानको ठिक एक हप्ता अघि मजदुर दिवसमा कार्यकर्ताहरुले लगाएका हुन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा कार्यकर्ताहरुले नारामात्र फरक होइन, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बोर्ड पनि च्यातेका छन । पञ्चेबाजाको धुनमा नेपाली कांग्रेसकै कार्यकर्ताले नाराबाजी गर्दै भर्‍याङ चढेर बोर्ड मिल्काए, अनि नारा लगाए- ‘पार्टी फोर्न पाइँदैन’ । माइकमा भने ठूलो आवाजमा ‘श्रमको सम्मान गरौँ’ भन्ने नारा लगाइएको थियो ।
नाराबाजी गर्ने र ब्यानर च्यात्ने नेपाली कांग्रेसकै कार्यकता हुन् । तनहुँमा कांग्रेसका दुई नेताको टकराव मजदुर दिवसमा थप चर्किएको छ ।

कांग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेल पक्षधर कार्यकर्ताहरुले कांग्रेसको समानान्तर कमिटीको ब्यानर र बोर्ड च्यातेका हुन् । समानान्तर कमिटी गएको पुसमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले गठन गरेका थिए ।

कांग्रेसले अर्को हप्तादेखि पहिलो चरणको जागरण अभियान पनि थालनी गर्दैछ । पहिलो चरणमा देशका ७७ वटै जिल्लामा जागरण अभियान चलाउने र तेश्रो चरणसम्म वडा तहमै पुग्ने कांग्रेसको अभियानको पूर्वसन्ध्यामा तनहुँ भने फेरि एकपटक दुई ठूला नेताका कारण कांग्रेसमा तरंग ल्याएको छ ।

तनहुँ कांग्रेस तरंगित हुनुको मुल कारण पौडेल र जोशीबीचको विवाद हो । यो विवाद प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनताका छताछुल्ल भएको थियो । एउटै निर्वाचन क्षेत्रका दुई नेतामध्ये प्रतिनिधीसभा सदस्यको टिकट पौडेलले पाए पनि जित्न भने सकेनन् । टिकट नपाएपछि पौडेललाई हराउन लागेको भन्दै जोशी साधारण सदस्य समेत नरहने गरी पार्टी कारबाहीमा परेका छन् ।

जोशीले तनहुँमा समानान्तर कमिटी गठन गरेपछि पौडेल पक्षका कार्यकर्ताहरुले मजदुर दिवसमा रिस पोखेको जोशी पक्षधर एक नेताले बताए । पौडेल पक्षको पार्टी छिन्नभिन्न बनाएको आरोप छ । उनीहरुले एउटै पार्टी हुनुपर्ने माग गरेका छन् ।

तनहुँ कांग्रेसका सचिव विश्व बास्तोलाले तेह्रौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिले नै मान्यता पाएको हुँदा समानान्तर समितिको अर्थ नहुने बताए । निर्वाचित समिति हुँदाहुँदै अर्को पार्टीको बोर्ड राख्न नहुने भनेर कार्यकर्ताहरुले स्वस्फूर्त बोर्ड फालेको हुनसक्ने उनले बताए ।