चितवनमा टिपरको ठक्करले श्रीमानको मृत्यु, श्रीमती घाइते

 

चितवन,बैशाख १८ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा बुधबार एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।  भरतपुर महानगरपालिका–५ का ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

चौविसकोठीबाट विशालचोकतर्फ गइरहेको ना ७ ख २२६९ नम्बरको टिपरले भित्रीबाटोबाट आउँदै गरेको ना १८ प १००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धर्मराज र उनकी श्रीमती ४५ वर्षीय कमला अधिकारी घाइते भएकी थिइन्।

गम्भीर घाइते धर्मराजको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते कमलाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि आक्रोसित स्थानीयले ठक्कर दिने चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै केही समय सवारी आवगमन अवरुद्ध गरेका थिए। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।