मजदुरको दुखेसो– काम नगरे घरमा चुलो बल्दैन, दिवस मनाएर के खानु !

सविना कार्की

काठमाडौं,बैशाख १८। काभ्रेकी माइली तामाङ विगत १२ वर्षदेखि भारी बोकेरै जीविकोपार्जन गर्र्दै आएकी छिन् । हरेक वर्ष आइरहने मजदुर दिवसले उनको जीवनमा केही प्रभाव परेको छैन ।

२५ वर्ष अघि उनी काभ्रेको दोलालघाटबाट काठमाडौं आइन् । सुरुमा सानो–तिनो व्यापार पनि गरिन् । तर व्यापार गर्दा घाटा खानु परेको हुँदा मजदुर गर्नतिर लागेको उनी बताउँछिन् ।

‘जतिन्जेल सकिन्छ, त्यतिन्जेल गर्छु, यसमा नाफा घाटाको कुरा हुँदैन सकेको भारी बोक्ने हो’ माइलीले भनिन् । १२ वर्षअघि भारी बोक्दा उनी दैनिक ५ सय रुपैयाँ कमाउथिन् । हालसम्म आइपुग्दा दैनिक ९ सय रुपैयाँ ज्यालामा काम गरिरहेको बताउँछिन् उनी ।

काम गर्नै व्यस्त हुने श्रमिकलाई मजदुर दिवसले केही प्रभाव नपारेको श्रमिकहरु बताउँछन् ।

‘काम नगरी खाना पाइँदैन’ मजदुर दिवस भएर के गर्नु’ उनी भन्छिन् । उनका २ छोरा छन् । जेठो छोरो १० कक्षामा र कान्छो ८ मा पढ्ने बताउँदै माइली भन्छिन्, ‘दुई छोरालाई पढाउन र बिहान बेलुका दुई छाक खाना बिहान ७ बजेदेखि साझ ६ बजेसम्म भारी बोक्छु ।’

लामो समयदेखि काम गरिरहेकाले धेरै ठेकेदारलाई चिनेकी छिन् उनले । त्यसैले कामको अभाव नहुने उनी बताउँछिन् ।

बुधवार मजदुर दिवसका दिन मजदुरहरु के गर्दै छन् त भन्दै स्थलगत रिपोर्टिङ गर्ने क्रममा धेरै मजदुरहरु परिश्रम गरिरहेको अवस्थामा देखियो । अझ धेरैलाई आज मजदुर दिवस हो भन्ने नै थाहा नभएको पनि पाइयो ।

वैशाखको चर्को घाम । पसिना निकाल्दै उनीहरु काम गरिरहेका थिए । डोकोमा ढुंगा र माटोको भारी बोकिरहेका थिए उनीहरु । पुरुषहरुसँगै महिला पनि देखिन्थे ।

डोकोमा लगाइएको नाम्लोले थाप्लो दुख्छ भनेर टाउकोमा पछ्यौराले फेटा बाधेकी थिइन् निजगढकी अस्मिता लम्सालले । विगत १० वर्षदेखि उनी ज्यालामजदुरी गरी जीवन धानिरहेकी छिन् ।

३५ वर्षीया अस्मिता बिहानदेखि बेलुकासम्म भारी बोक्नै व्यस्त हुन्छिन् । उनका श्रीमान् अजय पनि उनीसँगै भारी बोक्ने काम गर्छन् । अजय सधैभरी भारी मात्र बोक्दैन्न् । पल्म्बरको काम पनि गर्छन् । पल्म्बरको काम ठेक्कामा हुने हुँदा कहिले काम पाइन्छ थाहै नपाउने बताउँदै उनी भन्छन्, ‘उता काम नहुँदा यता भारी बोक्न आउँछु’ ।

आम्दानीका हिसाबले भन्नुपर्दा पल्म्बरतिर राम्रो हुन्छ, ‘दैनिक जसो २ हजार पाँच सयसम्म कमाउँछु’ अजयले भने । उनी भारी बोकेरै पनि दैनिक हजार रुपैयाँ कमाउने गरेको सुनाउछन् ।

सँगसँगै काम गर्दा पनि अस्मिता भने दैनिक ९ सय थाप्छिन् । उनका ३ छोरा र २ छोरी छन् । ‘छोराछोरीको सबैको बिहे भइसक्यो अब कान्छी छोरी मात्र साथमा छे उसलाई पढाइरहेका छौँ’ खुसी हुुदैँ उनीहरु भन्छन् । मजदुरी गरेरै पनि परिवारलाई राम्रै हेरचाह गरेकोमा गर्व गर्छन् ।
भनाइ नै छ नि, ‘नगरी काम पुग्दैन खाना, साँझ र बिहान’ । हो, त्यही बिहान बेलुका छाक टार्नकै लागि उनीहरु पसिना चुहाउँदै भारी बाकिरहेका छन् ।

‘बच्चैदेखि काम गरिन्थ्यो, भारी बोकिन्थ्यो, काठमाडौँ आएर नि यस्तै भारी बोकिरहेका छौँ तर मजदुर दिवसको दिन बिदा बस्दैनौँ’ अस्मिताले भनिन् ।

‘मजदुर दिवसका कसले मनाउने हो खास हामी मजदुर गर्नेलाई सधै काम नै प्यारो हुन्छ’ अजय भन्छन् ।

त्यस्तै ‘मजदुरी नगरेसम्म चुलोमा आगो बल्दैन’ भन्छिन् बौद्धकी फुलमाया तामाङ । ‘आज मजदुर दिवस हो भन्ने थाहै थिएन’ ठट्यौलो पारामा उनले भनिन् ।

‘छोरीको विदा रहेछ, बिहानै छोरीले आज मजदुर दिवस हो आमा काम गर्न नजानुस् भनिन् अनि पो थाहा भयो’ फुलमायाले सुनाइन्् । ‘श्रमिक दिवसको दिन विदा बस्यो भने ज्याला आउँदैन त्यसैले पनि काम गर्न आएको उनले भनिन् । फुलमायाले भारी मात्र होइन जस्तोसुकै काम गर्न पनि उनी पछि हट्दिनन् ।

मजदुर दिवसका दिन भने उनलाई बन्दै गरेको सडकमा बालुवा र गिटी बोकिरहेको अवस्थामा देखिन्थ्यो । ‘हामी काम गर्ने श्रमिकलाई काम नै प्यारो छ, कुन दिन के आउँछ केही थाहा हुदैँन’ फुलमायाले सुनाइन् ।