अर्थमन्त्री खतिवडा फिजी जाँदै

काठमाण्डौं, १७ बैशाख । अर्थमन्त्री डा। युवराज खतिवडा आज साँझ फिजी जाने भएका छन् । एसियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मन्त्री खतिवडा आज साँझ ९ बजे फिजी जान लागेका हुन् ।

वैशाख १९ देखि २२ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्नेछन् । बैठकमा अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एसियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थाहरुका उच्च पदस्थ प्रतिनिधिसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम छ ।
खतिवडाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन् । यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम छ ।
उनले बैठक र द्विपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारलाई दिनेछन् ।
उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिने मन्त्री खतिवडाको सचिवालयले जनाएको छ । बैठकमा सहभागी हुन अर्थमन्त्री सहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख पनि फिजी जान लागेका हुन् ।