प्रचण्डको अर्को सफलता : सिङ्गै पार्टी नेकपामा बिलय, फोरमको नामोनिशान रहेन

काठमाडौं, १७ वैशाख । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको मधेश तराई फोरम नेपाल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच एकीकरण भएको छ ।

ललितपुरको खुमलटारस्थित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा मंगलबार अमर यादव अध्यक्ष रहेको फोरम नेपाल नेकपमा बिलय भएको हो ।

मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।

क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादवले मधेशमा समस्या समाधानका लागि नेकपासँग पार्टी समायोजना गरिएको बताए ।

अमर यादवसहित ईशनाथ नगरपालिका रौतहट कांग्रेसका मेयर सन्तोष मेहत्ता र राजपाबाट रौतहट ३ का उम्मेदवार ओमप्रकाश जयसवाललगायतका स्थानीय नेताहरू पनि नेकपामा प्रवेश गरेका छन् ।

प्रचण्डले उनीहरूलाई टीका लगाई नेकपामा प्रवेश गरेका छन् । नेकपाका नेता प्रभु साहको पहलमा उनीहरूले आफ्नो पार्टीलाई नेकपामा बिलय गराएका हुन् ।