भारतमा चौथो चरणको मतदान शुरु

एजेन्सी, १६ बैशाख ।  भारतीय लोकसभाका लागि आज चौथो चरणको निर्वाचन शुरु भएको छ । ९ राज्यका ७१ लोकसभा सिटका लागि आज मतदान शुरु भएको हो ।

यसमा महाराष्ट्रका सबैभन्दा बढी १७, उत्तर प्रदेश र राजस्थानका १३–१३, पश्चिम बंगलाका ८, मध्यप्रदेश र उडिसाका ६–६, बिहारका ५, झारखण्डका ३ र जम्मु काश्मिरको १ सिटमा मतदान हुँदैछ । आजको मतदानको लागि अप्रिल २७ देखि प्रचारप्रसार रोकिएको थियो ।

अहिलेसम्म तीन चरणमा ३०२ सिटमा मतदान भइसकेको छ । चौथो चरणपछि जम्मा ३७३ सिटमा मतदान हुनेछ । ५४५ सिटको भारतीय लोकसभामा ५४३ सिटमा मतदानको माध्यमबाट छनौट गरिन्छ । विभिन्न सात चरणको निर्वाचन सकिएपछि मे २३ मा परिणाम सार्वजनिक गर्ने कार्यक्रम यसअघि नै निर्वाचन आयोगले तय गरेको हो । सातौं चरणको निर्वाचन भने मे १९ मा हुने कार्यक्रम रहेको छ ।