देशभरका हात्तीसारमा कर्मचारी अभाव, तीन सय दरबन्दीको आधा कर्मचारी पनि छैनन्

बसन्त पराजुली

सौराहा,१६ वैशाख । हात्तीमाथि चढेर गैँडा हेर्ने रहर कसलाई पो नहोला र ? अझै पर्यटकलाई गैँडा देखाउनमात्रै होइन निकुञ्ज सुरक्षाका लागि गरिने गस्तीका लागि पनि हात्तीको उत्तिकै महत्व छ । यही हात्तीे चलाउने र हात्तीको स्याहारसुसार गर्ने कर्मचारीको अहिले देशैभरका हात्तीसारमा अभाव छ ।

‘हामीसँग पहिला साठी जनाभन्दा बढी हात्ती स्याहारसुसारका लागि कर्मचारीहरु थिए, तर अहिले त्यो घटेर ३९ जनामा झरेको छ’, हात्ती प्रजनन केन्द्र सौराहाका प्रमुख बुधन चौधरी भन्छन्, ‘हात्ती प्रजनन केन्द्रमा हात्तीका छावा जन्मिएका जन्मिएछन्, तर कर्मचारी भने दिन प्रतिदिन घट्दै जाँदा समस्या भएको छ ।’

अहिले हात्ती प्रजनन केन्द्रमा नयाँ–पुराना गरी २१ वटा हात्ती छन्, जसमा ६३ जना कर्मचारी आवश्यक पर्नेमा आधाको हाराहारीमा मात्रै कर्मचारी भेटिन्छन् ।

एउटा हात्तीलाई माउतेले स्याहारसुसार गर्छ, पछुवाले खानेकुरा तयार गर्छ र फनेतले हात्ती चलाउँछ । हात्तीको स्याहारसुसार गर्ने र चलाउने तीनैजना श्रेणीविहीन कर्मचारी हुन् । एउटा हात्तीलाई तीनैजना कर्मचारीको व्यवस्था हुनुपर्नेमा अहिले त्यसको अभाव छ ।

२०६३ मंसिर ३ गते जन्मिएको लोकतन्त्रकलीले हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहामा १२ वर्षको उमेरमा दुई महिनाअघि सन्तान जन्मायो । गत फागुन ९ गते जन्मेको लोकतन्त्रकलीको छावाको कर्मचारी अभावमा त्यही आमाको स्याहार गर्ने कर्मचारीहरुवाटै स्याहारसुसार भैरहेको छ ।

‘पहिला पहिला त हात्ती जन्मिनेबित्तिकै नयाँ छावाकै लागि तीन जना कर्मचारीको दरबन्दी हुन्थ्यो, तर अहिले दरबन्दी थप्नुको कुरा परै जाओस् छाडेका कर्मचारी पूरा गर्नेतर्फ पनि ध्यान गएको पाइँदैन’, विगत २१ वर्षदेखि हात्ती प्रजनन केन्द्रमा कार्यरत माउते सञ्चलाल पाख्रिन भन्छन्, ‘पहिला पहिला त एउटै हात्तीमा तीन जना स्याहारसुसार गर्ने थियौँ र सजिलो हुन्थ्यो, तर अहिले एउटा हात्ती एउटैले स्याहारसुसार गर्नुपर्ने बाध्यता छ, बिरामी नै परे पनि हात्तीको स्याहार नगरे सुखै छैन ।’

हात्ती प्रजनन केन्द्रमा मात्रै होइन अहिले देशैभरका हात्तीसारमा हात्ती चलाउनेदेखि स्याहारसुसार गर्नेसम्मका कर्मचारीको अभाव छ । चितवन राष्ट्रिय निकुञ्जमा ५०, कोशी वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु आरक्ष, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा १०र१० वटा गरी नेपालभर एक सय हात्तीका दरबन्दी छन् ।

हात्तीसँगै तीन सय कर्मचारीको पनि दरबन्दी छ । तर, अहिले सबै हात्तीसारमा दरबन्दीअनुसारका आधा कर्मचारी पनि छैनन् । ‘सेवा निवृत्त हुँदै जाने तर नयाँ नथपिने भएपछि समस्या भयो’, एक कर्मचारीले भने ।

‘हात्तीको दरबन्दी संख्या सय हो, तर अहिले हामीसँग एक सय सातवटा हात्ती छन्’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णु श्रेष्ठले भने, ‘हात्तीको संख्याका आधारमा ३२१ जना कर्मचारी आवश्यक पर्ने हो, तर अहिले डेढ सय कर्मचारी पनि हामीसँग छैनन् ।’

हात्ती चलाउनेदेखि स्याहारसुसार गर्नेसम्म श्रेणीविहीन कर्मचारी भएकाले उनीहरुलाई प्राविधिककै रुपमा लोकसेवा आयोगले नै भर्ना खुला गरेर नियुक्ति गर्नुपर्ने व्यवस्था भएकाले समस्या भएको पनि उनले जनाए ।

‘हामीले कर्मचारी अभावका बारेमा लोकसेवा आयोगलाई पत्र नै काटेर माग गरिरहेका छौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘कर्मचारी समायोजन प्रक्रियाका कारण पनि अहिले लोकसेवा आयोगले नयाँ भर्ना नलिँदा समस्या भएको छ ।’ नयाँ दरबन्दी थप्नका लागि सामान्य प्रशासन मन्त्रालयले स्वीकृति नदिँदा पनि समस्या आएको बताइएको छ ।

‘रिक्त दरबन्दी त लोकसेवा आयोगकै प्रक्रियाबाट पूरा गर्ने हो, तर नयाँ थपिएका हात्तीका हकमा भने कर्मचारी दरबन्दी कायम गर्न सामान्य प्रशासन मन्त्रालयले अनुमति दिनुपर्छ, त्यस्तो अनुमति नपाउँदा पनि समस्या छ’, प्रवक्ता श्रेष्ठले भने ।