भोली देखी कक्षा १२ र ११ को परीक्षा, नौ लाख ३६ हजार परीक्षार्थी सहभागी हुदैँ

काठमाडोँ, १४ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उहाँले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने बताए । आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ ।

सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुदैँछन् ।बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङरमुस्ताङमा एक÷एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए। परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।