मानव तस्करीको आरोपी नायक सुदर्शन गौतमविरुद्ध रेडकर्नर नोटिस

काठमाण्डौं, १३ बैशाख । मानव तस्करीको आरोप लागेका नायक सुदर्शन गौतमविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। नेपाली चलचित्र ‘हिम्मतवाली’ का नायक गौतमविरुद्ध प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले बिहीबार रेडनोटिस जारी गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। उनका अनुसार गौतमविरुद्ध मानवतस्करीसँगै ठगीको मुद्दामा प्रहरीले गौतमलाई ७, ८ महिनादेखि खोजी गरिरहेको छ। प्रहरी प्रवक्ता सुवेदीका अनुसार रेडनोटिस जारी भएसँगै इन्टरनेसनल क्रिमिनल पोलिस अर्गनाइजेसन इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन्। उनी विभिन्न देश हुँदै हाल क्यानडामा बस्दै आएका छन्। केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीनजना नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटी पुर्‍याएको थियो। हाइटीबाट समुद्री बाटोमार्फत उनीहरुलाई अमेरिका पुर्‍याउने क्रममा बहामास भन्ने देशमा पुगेपछि पानीजहाजका सुरक्षा गार्डले शंका लागेर नियन्त्रणमा लिएका थिए। पानीजहाज नियन्त्रणमा परेसँगै गौतम मानवतस्कर कार्यमा संलग्न रहेको भन्दै यो घटनाबाहिर आएको थियो। अनुसन्धानका क्रममा गौतमको संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी नेपाल प्रहरीले उनलाई नेपाल ल्याउन अन्तराष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल० लाई पत्राचार समेत गरेको थियो। बहामासमा नियन्त्रणमा लिइएका नेपाली युवतीहरुलाई भने अमेरिकन दूतावासको सहयोगमा नेपाल फर्काइएको थियो। दुवै हात नभएका गौतम सगरमाथा चढेपछि बढी चर्चामा आएका थिए भने उनले नायिका रेखा थापासँग चलचित्र हिम्मतवालीमा अभिनय गरेका थिए।