चितवनमा बेरोजगार सूचीमा ११ हजार बढीको निवेदन

कुलप्रसाद काफ्ले

भरतपुर,१३ वैशाख । चितवनमा बेरोजगारको सूचीमा सूचीकृत हुन ११ हजार बढीले स्थानीय निकायका वडाहरुमा निवेदन दिएका छन् । जिल्लाका सातवटै स्थानीय निकायमा गरेर ११ हजार ८३८ वटा बेरोजगार दर्ताको निवेदन परेको त्यहाँका रोजगार संयोजकहरुले बताएका छन् ।

बेरोजगारहरुलाई कम्तीमा सय दिनको रोजगारी दिने उद्देश्यले सरकारले चैत ४ गतेदेखि बेरोजगारको सूचीमा सूचीकृत हुन आह्वान गरेको थियो । निवेदन दिने समय चैत मसान्तमा सकिएपछि सरकारले पुनः वैशाख मसान्तसम्मको समय थप गरेको छ ।

चैत मसान्तसम्ममा भरतपुर महानगरपालिकामा तीन हजार १७४, रत्ननगर नगरपालिकामा एक हजार ५५९, कालिका नगरपालिकामा दुई हजार ९०, राप्ती नगरपालिकामा एक हजार ७१८, खैरहनी नगरपालिकामा ७६४, माडी नगरपालिकामा ७०८ र इच्छाकामना गाउँपालिकामा एक हजार ८२५ जनाले निवेदन दिएका छन् । सातवटा स्थानीय निकायमा सयवटा वडाहरु रहेका छन् । रत्ननगर नगरपालिकाको वडा नं ६ मा कसैले पनि बेरोजगार दर्ताको निवेदन नदिएको उपमेयर विमला दुवाडीले जानकारी दिइन् ।

बेरोजगारको निवेदन दिनेबारे धेरैलाई जानकारी नहुँदा निवेदन थोरैमात्र आएको भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् भरतपुर १० का वडा अध्यक्ष अरूण पीडित भण्डारीले बताए । वैशाख मसान्तसम्मको अवधि थप भएकाले भरतपुर १० मा अझै दुई हजार पाँच सयजति निवेदन पर्ने अनुमान गरिएको उनको भनाइ छ ।

अधिकांश निवेदकहरुले पूरा विवरण नभरेका भरतपुर महानगरपालिका, रोजगार सेवा केन्द्रका रोजगार संयोजक विनोद खरालले जानकारी दिए । पूरा विवरण नभएका निवेदनहरुलाई पुनः वडामा पठाएर विवरण पूरा गरिने उनले बताए । त्यसपछिमात्रै प्रमाणीकरण गरेर रोजगार दिनका लागि निवेदकहरुको छनोट गरिने उनको भनाइ छ ।

वडा कार्यालयमा भएका कर्मचारीहरुले निवेदन पूर्ण छ वा छैन भनेर नहेरिदिँदा निवेदनहरु पुनः वडामै पठाउनु परेको उनले बताए । निवेदकहरुले काम गर्न चाहेको एकभन्दा बढी क्षेत्रहरु पनि छनोट गर्न सक्ने उनले प्रस्ट्याए ।

रोजगारी हकसम्बन्धी ऐन, २०७५ अनुसार बेरोजगार सूचीमा सूचीकृत हुनेलाई सरकारले सय दिनको रोजगारको व्यवस्था गर्नेछ ।

सरकारले रोजगार दिन नसके त्यस्ता व्यक्तिहरुलाई सय दिनमा हुन आउने न्यूनतम पारिश्रमिकको जम्मा ५० प्रतिशतमात्रै बेरोजगार भत्ता दिइने ऐनमा उल्लेख छ । हाल मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४५० रहेको छ ।

बेरोजगार भत्ता पाउनका लागि परिवारको कुनै पनि सदस्यको रोजगारी भएको हुन नहुने, वैदेशिक रोजगारमा गएको हुन नहुने, स्वरोजगार भएको हुन नहुने र वार्षिक न्यूनतम आय तोकिएभन्दा कम हुनुपर्ने सर्तहरु राखिएको छ । १८ देखि ५९ वर्षसम्मको बेरोजगार व्यक्तिले निवेदन दिन सक्ने छ ।

बेरोजगार सहायता कार्यक्रमअन्तर्गतको तालिम प्राप्त गरेको व्यक्ति रोजगार सेवा केन्द्रले खटाएको स्थान वा क्षेत्रमा गई तोकिएबमोजिमको काम गर्नुपर्ने ऐनमा उल्लेख छ । आजको चितवनपोष्टमा खबर छ ।