एनसेललाई बहिष्कार आह्वान

काठमाडौं,१३ वैशाख । राजधानीबाट शुक्रबार प्रकाशित राष्ट्रिय दैनिकले भूकम्प पछिको पुनः निर्माणको समाचारसहित फरक–फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् ।

विहिबार जनतासमाचार डटकममा ४ वर्षसम्म पनि हटेन ‘टेको’, सांसदले बजेट माग्दा संघीयता कमजोर, एड्सबाट ३५ जनाको मृत्यु, दूषित पानी पिउँदा ६० जना बिरामी, सरकारले गर्यो सातामै २२ निर्णय र केपिएल २, सामाजिक विकासमन्त्री रावलद्वारा उद्घाटन लगायतका राजनीतिक, समाजिक, अन्तर्राष्ट्रिय तथा मनोरञ्जनात्मक समाचार प्रकाशित भएका थिए ।

गोरखापत्र दैनिकमा निर्धारित समयमै पुनः निर्माण शिर्षकमा प्रधानमन्त्री केपी ओलीको भनाईलाई प्रमुख समाचारको रुपमा प्रकाशित गरिएको छ । गोरखा भूकम्पको चौथो स्मृति सभामा बिहिबार राजधानीमा छिटो निर्माण गर्न नमिल्ने ऐतिहासिक संरचना बाहेक निजी आवास, विद्यालय र स्वास्थ्य क्षेत्रका भवनहरुको पुनःनिर्माण निर्धारित समयभित्रै सम्पन्न गरिने प्रधानमनत्रीले बताउनुभएको छ । नेपाल फेरि पनि भूकम्पकीय जोखिममा रहेको बताउँदै उहाँले ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा निर्माणले भने केही समय लिनसक्ने बताउनुभयो ।

राष्ट्रपतिलाई बेइजिङमा पहिलो स्वागत शिर्षकमा अन्नपूर्ण पोष्ट्मा शीर्ष समाचार छ । नेपालमा गणतन्त्र आएको दशकपछि उत्तरी छिमेकी चीनले राष्टपतिलाई पहिलोपटक बेइजिङमा स्वागत गरेको हो । गणतन्त्रलाई पहिल्यै स्वीकार गरेपनि राष्ट्रप्रमुखलाई स्वागत गरेर नेपालको राजनीतिक परिवर्तनप्रति चीनले बलियो सन्देश दिएको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकमा खुलामञ्च कब्जा शिर्षकमा प्रमुख समाचार छापिएको छ । समाचार अनुसार खुलामञ्च कब्जा गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहेपनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वर्डा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । अनुमति नदिएको महानगरले पनि कारबाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन ।

नागरिक दैनिकले एनसेललाई बहिष्कार आह्वान समाचारलाई आफ्नो प्रथम पृष्ठमा छापेको छ । वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिदबिक्रीमा पुँजिगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ । एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन् ।

नयाँ पत्रिका दैनिकले राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त शिर्षकको समाचार आफ्नो मुख्य पृष्ठमा प्रकाशित गरेको छ । राष्ट्रपतिको उडानका लागि बिहान एयरपोर्ट जाम गराउँदा दिनभरिको उडान अस्तव्यस्त भएको हो । राष्ट्रपतिको एक उडानले दुई सय उडान प्रभावित भए । उड्नुपर्ने जहाज ‘डिले’ भए र आएका जहाजले आकाशमै चक्कर लगाउनुप¥यो । तर, सिछुवान एयरलायन्सको उडान ३ यु ८७१९ फन्को लगाएर पनि अवतरण गर्न पाएन।

चीनको ल्हासाबाट काठमाडौं आइपुगेको जहाजलाई दक्षिण वीरगन्ज पु¥याएर फेरि काठमाडौंको आकाश हुँदै ल्हासा फकाईयो । सो उडानमा भएका यात्रुको बिचल्ली भएको छ किनकि आफ्नो सेड्युलका कारण सो जहाज बिहीबार पनि काठमाडौं आएन ।

‘भूमाफियाले हडपेका सबै जग्गा खोजिने’ शिर्षकमा राजधानी दैनिकमा समाचार प्रकाशित भएको छ । भूमाफियाले कब्जा गरेका देशभरका सार्वजनिक जग्गा खोजतलास गर्न सरकारले उच्च स्तरिय आयोग गठनको प्रक्रिया गालेको छ । भूमि,व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयले देशभरमा भूमाफियाबाट अतिक्रमणमा परेका सहकारी तथा सार्वजनिक जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको समाचारमा उल्लेख गरिएको छ ।

कारोबार दैनिकको मुख्य पृष्ठमा ‘बचत बढाउनोस, ब्याजदर आफै घट्छ’, ‘पुनः निर्माण समयमै पुरा नहुने स्वीकारोक्ति’, एनसेल कर मुद्दामा सर्वोच्चको अन्तरिम आदेश र यूएईसँग पनि शून्य लागतमा सहमति लगायतका समाचारहरु प्राथमिकताका साथ प्रकाशित गरिएका छन् ।