आईपीएलमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

एजेन्सी, १२ बैशाख । इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानका लागि सङ्घर्ष गरिरहेको कोलकता राजस्थानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । कोलकताको घरेलु मैदान इडेन गार्डेन्समा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ । पछिल्ला ३ खेलमा लगातार पराजित कोलकता सुखद् नतिजाको रणनीतिमा छ । आन्द्रे रसेलको बिस्फोटक ब्याटिङमा सुरुआती खेलमा जित निकालेपनि कोलकताले पछिल्ला खेलमा सनराइजर्स हैदराबादसँग ९ विकेट, चेन्नई सुपर किङ्सँग पाँच विकेट तथा रोयल च्यालेन्जर्स बेङ्लोरसँग १० रनको पराजय भोगेको छ ।
स्मिथको कप्तानीपछि राजस्थानले पछिल्ला ३ मध्ये १ खेलमा जित निकालेको छ । मुम्बई इन्डियन्ससँग ५ विकेटको जित निकालेको उसले दिल्ली क्यापिटल्ससँग ६ विकेट तथा किङ्स–११ पन्जाबसँग १२ रनको हार ब्यहोरेको छ । कोलकता पाँचौं जितको लक्ष्यमा मैदान उत्रिँदा राजस्थान खराब नतिजालाई सुधार्ने लक्ष्यमा छ । अहिलेसम्मका १० खेलमध्ये ४ मा जित र ६ मा पराजय भोगेको कोलकता ८ अंकसहित छैटौं स्थानमा छ । पुछारमा रहेको राजस्थानले ६ अंक जोडेको छ । राजस्थानले ३ खेलमात्र जित निकाल्न सकेको छ भने ७ खेलमा हार ब्यहोरेको छ ।