रत्ननगरका बृद्धबृद्धालाई सम्मान तथा पौष्टिक आहार

रत्ननगर ११ बैशाख । रत्ननगर नगरपालिका वडा नं ८ ले बुधवार वडा भित्रका बृद्धबृद्धाहरुलाई सम्मान सहित पोष्टिक आहार वितरण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा ७० बर्ष नाघेका १८६ जना बृद्धबृद्धालाई सम्मान सहित पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष विनोद बस्नेतले बताए । उनले ज्येष्ठ नागरिकले समाजको विकासमा खेलेको भूमिकाको कदर गर्दै बृद्धबृद्धालाई सम्मान गरिएको बताए । कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी र वडाध्यक्ष बस्नेतले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर समान गरेको थिए । उनीहरुलाई पोष्टिक आहारका रुपमा ग्लुकोज,जुस, र विस्कुट समेत वितरण गरिएको थियो । सो अबसरमा उपमेयर दुवाडीले जनप्रतिनिधिहरु बृद्धबृद्धाका छोराछोरी भएकाले आमाबुवाको सम्मान गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको बताइन । जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडीले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने प्रचलन सुरु गरेर रत्ननगरले उदाहरण पेश गरेको बताए । कार्यक्रममा वडा सदस्यहरु गोकर्ण कुमारी महतो,नेत्रलाल गिरी,भोला महतो,कुमारी विश्वकर्मा र वडा सचिव सुर्यप्रसाद ढुंगाना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडाध्यक्ष बस्नेतको अध्यक्षतामा भएको थियो ।