भरतपुर महानगरपालिकाको सार्वजनिक सुनुवाई, महानगरबासीका गुनासाको चाङ

चितवन, ११ बैशाख । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । वडा नम्बर १६ मा आयोजना गरिएको सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको बारेमा असन्तुष्टि जनाएका छन् ।
महानगरबासीहरुले नगरपालिकाले विकास निर्माणको काममा उल्लेखनीय काम नगरेको भन्दै गुनासो गरेका हुन् ।

अधिकांश नगरबासीले सडक र ढल व्यवस्थापनका बारेमा गुनासो गरेका छन् । महानगरपालिका भित्र निर्माण भएका सडकहरु कम गुणस्तरीय र निर्माण सम्पन्न नभएको भन्दै महानगरको ध्यानाकर्षण गराएका हुन् । सेवाग्राहीको गुनासोको सन्दर्भमा महानगर प्रमुख रेनु दाहालले गुनासो नआउने गरी काम गर्न निर्देशन दिईन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख भूमिलाल सुवेदी, डिभिजन सडक कार्यालयका ईन्जिनीयरलगायतले सम्बोधन गर्ने प्रयास गरेका थिए ।

कार्यक्रमको सहजीकरण भ्रष्टाचार विरुद्धको अभियान चितवनले गरेको थियो ।