काठमाडौंमा मेट्रो रेल निर्माण गर्न आयो ३ खर्ब लगानीको प्रस्ताब

काठमाडौं,०८ वैशाख । काठमाडौं उपत्यकामा मेट्रो रेलको परियोजना निर्माणको लागि ३ खर्ब रुपैयाँको प्रस्ताब आएको छ । उपत्यकामा ७७ दशमलब २८ किमी दुरीमा मेट्रो रेल निर्माणका लागि प्रस्ताव आएको हो ।

लगानी सम्मेलनमा सरकारले राखेको ७७ वटा परियोजना मध्य काठमाडौं उपत्यका मेट्रो रेल निर्माण परियोजना समेत रहेको थियो ।

रेल्वे लाइन दुई रुट भूमिगत (अण्डर ग्राउण्ड) र बाँकी तीनमा जमीनमाथि रहने गरि सन् २०११ मा नै कोरियन कम्पनीले यसको सम्भाव्यता अध्ययन गरेको थियो ।

सम्भाव्यता अध्ययन प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्ट ११ किमी, कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमी, स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबिघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमी मेट्रो रेल बनाउन सिफारिश गरेको थियो ।

लगानी बोर्डले यो परियोजना निर्माणको लागि भने ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लाग्ने आँकलन गरेको थियो ।

उपत्यकामा पाँचवटा विद्युतीय मेट्रो रेल निर्माणलाई कुल पाँच खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लाग्ने अध्ययन प्रतिवेदनले देखाएको छ । गत चैत्र १५ र १६ गते आयोजना भएको लगानी सम्मेलनमा मेट्रोरेल निर्माणको लागि रकम भित्रिएको लगानी बोर्डले जनाएको हो । सो, सम्मेलनमा कुल परियोजनाको लागि २५ खर्बभन्दा बढि रकमको लगानी प्रतिबद्धता आएको छ ।