सहकार्यका साथ अघि बढ्नुपर्छः कोइराला

पोखरा, ०८ बैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छन्। नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन नेतृ कोइरालाले सहकार्य र एकताविना विकास र समृद्धि सम्भव नभएको बताइन्। ‘सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन्’, उनले भनिन्, ‘विकास र समृद्धिका लागि सहकार्य र एकता अनिवार्य छ।’ पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बन्नुमा पार्टी नभई व्यक्ति दोषी भएको बताइन्। उनले पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने रहेको बताइन्। ‘एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन’, उनले भनिन्, ‘पार्टीलाई संगठित बनाएर लैजानुपर्छ।’ देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको संगठन विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।