भरतपुरमा चौधरी ग्रुपको बिजनेस होटल ‘फर्न रेजिडेन्सी’ खुल्यो

चितवन  बैशाख ८ । चौधरी ग्रुपले चितवनको भरतपुरमा बिजनेस होटल खोलेको छ। भरतपुर हाइटमा रहेको ११ तले सिजी ल्यान्डमार्कमा भवनमा फर्न रेजिडेन्सी बिजनेस होटल खोलेको हो। उक्त होटलको सफ्ट ओपनिङ भइसकेको छ।
चितवनमा सिजीको यो तेस्रो होटल हो। मेघौली सेराई र गल्फ रिसोर्ट सिजी रिट्रिट यसअघि नै सञ्चालनमा आइसकेका छन्।

भरतपुर हाइटमा रहेको सिजी ल्यान्डमार्कको ६ तलामाथि फ्रेन रेजिडेन्सी हुने छ। ४८ कोठा भएको यो होटल भरतपुरकै स्तरीय भएको ग्रुपको दाबी रहेको छ। होटलमा रुफटक स्वीमिङ पुल छ भने सभासम्मेलनका हल पनि रहेको छ।

बहुउद्देश्यीय भवन सिजी ल्यान्डमार्कमा होटलसँगै सपिङ मल, फुडकोर्ट,सिनेमा हल, ट्राभल एजेन्सी लगायतका अन्य सुविधासहितका सेवा हुने छन्।

होटलको व्यवस्थापन फर्नले सम्हाल्ने छ। अन्तर्राष्ट्रि बिजनेस चेन होटल यही ब्रान्डमा काठमाडौंमा पनि सञ्चालित छ। चौधरी हस्पीटालिटीले नेपाल बाहिर पनि यही ब्रान्डबाट होटलहरु सञ्चालन गरिरहेको छ।