विप्लवमाथि वार्ताको दबाब

काठमाडौं,८वैशाख । आइतबार काठमाडौंबाट छापिएका राष्ट्रिय दैनिकले फरक–फरक विषयलाई प्राथमिकता दिँदै समाचार प्रकाशित गरेका छन् ।

शनिबार जनतासमाचार डटकममा राष्ट्रपतिद्वारा हस्तकला प्रदर्शनी अवलोकन, ‘नयाँ वर्षसँगै समृद्धिको युग शुरु’ , रोकिएन बर्डफ्लु संक्रमण, ३ लाख कुखुरा मरे, भारतबाट २६ बालक उद्दार र आर्थिक अभावले गुरुङ संग्रहालय संकटमा लगायतका विभिन्न समसामयिक समाचार प्रकाशित भए ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री केपी ओलीले ‘देशको रक्षा गर्ने पुर्खाप्रति गर्व लाग्छ’ भन्नुभएको शीर्ष समाचार रहेको छ । तत्कालिन अंग्रेज फौजलाई नेपाली वीर सेनाले करिब २०४ वर्षअघि पराजित गरेको खुसियालिमा बुटवल उपमहानगरपालिकाले शनिबार आयोजना गरेको ऐतिहासिक जितगढि किल्ला विजयोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले विकास चाहेको तर केही तत्वले सरकारले गरेको विकास नदेखेको औंल्याउँदै त्यस्ता तत्वप्रति सचेत हुनुपर्ने बताउनुभएको हो । बहादुर पुर्खाले ब्रिटिस सेनालाई लखेटेर देशको रक्षा गरेको भन्दै प्रधानमन्त्रीले नेपाली जातिप्रति, नेपाली पुर्खाप्रति र नेपाली सेनाप्रति गर्व लाग्ने बताउनुभएको छ ।

नयाँपत्रिका दैनिकमा ‘सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा पाँच सय ५० मुद्दा’ शीर्षकमा समाचार छापेको छ । समाचारअनुसार सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने धन्दामा लागेका भूमाफियाले उच्च सरकारी निकायलाई प्रभावमा पार्ने गरेका छन् । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको आदेशमा नै सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिएको, पाटन संयुक्त क्याम्पसको ५१ रोपनि जग्गामा व्यक्तिको दाबी देखिएको र सर्वोच्चमा चार सय, उच्च र जिल्ला अदालतमा डेढ सय मुद्दा विचाराधिन रहेको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकले ‘शिक्षक नियुक्ति केन्द्रबाटै’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सर्कुलर गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुक्ति गर्न निर्देशन दिएको हो । संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । केन्द्रको सर्कुलरप्रति गाउँपालिका महासंघ र नगरपालिका संघले आपत्ति जनाएका छन् । उनीहरुले स्थानीय सरकारको अधिकारमा संघीय मन्त्रालयले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

शिक्षक सेवा आयोगले गराएको आन्तरिक प्रतिस्पर्धामा असफल भएका, परीक्षामा सहभागी नभई सेवासुविधा लिएर घर जाने र अनिवार्य अवकाशमा परेर रिक्त भएका दरबन्दीमा शिक्षक नियुक्त गर्न लागेको समाचार छ ।

नागरिक दैनिकले ‘काल’ बन्दै दाइजो शीर्षकको समाचारलाई आफ्नो प्रमुख समाचार बनाएको छ । तराई मधेसका जिल्लाहरुमा दाइजोका कारण महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता बनेको छ । पछिल्लो उदाहरणका रुपमा वीरगञ्ज महानगरपालिका २३ प्रसौनी बिर्ताकी २८ वर्षीया अन्जुदेवी तात्वाँले दाइजोकै कारण ज्यान गुमाउनुपरेको छ । यो घटनासँगै तराई मधेसमा महिलाका लागि ससुराल कति सुरक्षित वा असुरक्षित भन्ने सवाल उठेको समाचारमा उल्लेख गरिएको छ ।

‘विप्लवमाथि वार्ताको दबाब’ शीर्षकमा अन्नपूर्ण पोष्टले प्रमुख पृष्टमा समाचार छापेकाे छ । समाचारअनुसार विप्लवलाई आफ्नै पार्टीभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिटब्यूरो सदस्य तथा पूर्वकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्यूरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् । राईले हामी निरन्तर लडौंला र पार्टी राम्रो पनि बन्ला भन्दै तत्काल वार्ताको विकल्प नभएको बताउनुभएको सामाचार छ ।