अख्तियार हेटौंडाको स्टिङ अपरेशनः घुस लिँदालिँदै १९ जना पक्राउ

हेटौंडा,७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले स्टिङ अप्रेशन चलाएर १९ जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा सेवाग्राहीलाई काम मिलाइदिन्छु भन्ने लगायतका आश्वासन देखाएर घुस लिँदालिँदै गरेको अवस्थामा १९ जनालाई पक्राउ गरेको हो । अख्तियार हेटौंडाले घुससहित पक्राउ गरेकाहरुलाई मुद्धा चलाएको छ ।

चालु आवको साउन महिनादेखि फागुनमहिना सम्ममा अख्तियार हेटौंडा कार्यालयले स्टिङ अपरेशन गरेर १९ जनालाई पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ । अख्तियार हेटौंडा कार्यालयको मातहत जिल्लामा सेवाग्राहीलाई काम मिलाइदिने बाहानामा घुस मागेपछि अख्तियारले रकम बुझाउने क्रममा रंगेहात पक्राउ गर्न सफल भएको हो ।

सरकारी कर्मचारीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियारले घुससहित रंगेहात १९ जनालाई पक्राउ गर्न सफल भएको अख्तियार हेटौंडा कार्यालयका सूचना अधिकारी देबकुमार राईले जानकारी दिए ।

अख्तियारले कार्यालय सहयोगीदेखि खरिदार, नायब सुब्बा, सई, अधिकृत, नापी अधिकृत, डिभिजन वन अधिकृत लगायतकालाई घुससहित रंगेहात पक्राउ गरेको छ । बारा र पर्साबाट घुस लिँदालिँदै गरेको अवस्थामा धेरै पक्राउ गरिएको अधिकारी राईले जानकारी दिए ।

बारा, पर्सा, मकवानपुर, रौतहट, भैरहवा, चितवनबाट १३ वटा स्टिङ अपरेशन गरेर १९ जनालाई पक्राउ गरिएको अख्तियार हेटौंडाले जनाएको छ ।
अख्तियारले १५ सय रुपैयाँदेखि २४ लाख २२ हजार रुपैयाँसम्म घुस लिदाँलिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । घुसदिने सेवाग्राहीको नाम भने अख्तियारले गोप्य राखेको छ ।

अख्तियारको हेटौंडा कार्यालयले प्रदेश २ को बारा र पर्सा र प्रदेश ३ को काठमाडौं उपत्यकाभन्दा बाहेकका ९ वटा जिल्ला हेर्दै आएको छ ।