फोर जी सेवा सातै प्रदेशमा

काठमाण्डौं, ०५ बैशाख । नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको जनाएको छ। नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिएकी हुन्। बिहीबार काठमाडौंमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले फोर जी सेवा विस्तारका लागि साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको पनि बताइन्। नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा सञ्चालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो। सोही सम्झौता अनुसार सबै प्रदेशमा साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको प्रवक्ता बैद्यले बताइन्। उनले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्रयाउने काम सुरु गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गर्ने पनि बताइन्। नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो।