रत्ननगरमा खानेपानी सुरक्षासम्बन्धी अभिमुखीकरण

रत्ननगर, ०४ बैशाख । रत्ननगर नगरपालिका वडा नं ३, शान्तिचोकमा खानेपानी सुरक्षा तथा सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । खानेपानीको सुरक्षा र सरसफाइका विषयमा उपभोक्ताहरुलाई जानकारी गराउन रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कार्यक्रम आयोजना गरेको हो । रत्ननगर अस्पतालका जनस्वास्थ्य अधिकृत भोजराज खनालले दूषित खानेपानीको प्रयोगबाट लाग्ने रोग र बच्ने उपाय, पानीको महत्व र धार्मिक पक्ष तथा संस्थाका इन्जिनियर ज्ञानप्रकाश पौडेलले पानीको सुरक्षाको विषयमा सहजीकरण गरेका थिए । पार्षद् सदस्य तथा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्य गरी ५५ जनाको सहभागिता रहेको संस्थाका व्यवस्थापक विश्व पौडेलले जानकारी दिए । संस्थाका उपाध्यक्ष रामहरि अधिकारीले खानेपानीको सुरक्षा र सरसफाइका विषयमा उपभोक्तालाई सचेत गराउन सेवा क्षेत्रभित्रका वडाहरुमा कार्यक्रम आयोजना गरिएको बताए ।