अर्किड स्कूललाई ‘अन्तर्राष्ट्रिय टिचिङ एक्सिलेन्स अवार्ड’

चितवन,५ बैशाख । अर्किड स्कूल, भरतपुर ‘अन्तर्राष्ट्रिय टिचिङ एक्सिलेन्स अवार्ड’द्वारा पुरस्कृत हुने भएको छ।
गत मार्च महिनामा आह्वान गरिएको उक्त प्रतिस्पर्धामा संसारभरका विभिन्न विद्यालयहरुले आफ्नो उपलब्धि, विगतका पुरस्कारहरु, शैक्षिक पद्धतिमा अवलम्बन गरिएका कृयाकलाप तथा परियोजनामा आधारित शिक्षण विधि, अन्य अतिरिक्त कृयाकलाप र विश्वव्यापी रूपमा प्रचलित विभिन्न शैक्षिक कृयाकलाप र प्राप्त उपलब्धिलाई मापन गरी निर्णायक मण्डलको एक महिनाको सुक्ष्म अध्ययन र अभिलेख एवं पुरस्कार/उपलब्धि पश्चात् उक्त पुरस्कारको घोषणा गरिएको छ।
आगामी मे महिनाको अन्तिम सातामा प्रदान गरिने उक्त पुरस्कार ‘चित्करा विश्वविद्यालय’ पञ्जाव, भारतमा एक भव्य कार्यक्रमका बीच हुनेछ। उक्त कार्यक्रममा विभिन्न देशका पाँचसय विद्यालयका प्रतिनिधिहरु, एकहजार जना सहभागी तथा सयौं प्रस्तोता/वाचकहरुको सहभागिता रहने कुरा विद्यालयका सह-प्राचार्य ओमराज मैनालीले बताउनुभयो।
आइ एस ए ग्लोबल संस्थाले हरेक वर्ष विभिन्न विधामा संसारभरका विद्यालय, शिक्षक तथा प्राचार्य/संस्थापकहरु मध्येबाट उल्लेखनीय शैक्षिक उपलब्धिलाई मापन गरेर मापदण्ड पूरा गर्ने विद्यालय तथा व्यक्तित्वहरुलाई उक्त पुरस्कार प्रदान गर्ने गर्दछ।