चितवनका चेपाङ युवा सङ्गठित,स्वयंसेवक समूह गठन

मुग्लिन,४ वैशाख । समुदायको हकहितका लागि चितवनका शिक्षित चेपाङ युवा सङ्गठित भएका छन् । नेपाल चेपाङ सङ्घ चितवनले चेपाङ समुदायका शिक्षित युवालाई समुदायको हकहितका लागि परिचालन गर्ने उद्देश्यले दीपा चेपाङको संयोजकत्वमा २५ सदस्यीय चेपाङ युवा स्वयंसेवक समूह गठन गरिएको हो ।

पछिल्लो समय चेपाङ समुदायमा शिक्षित युवा बढ्दै गए पनि सरकारी कार्यालय, अस्पताल तथा विभिन्न कार्यालयका कामकाजमा चेपाङले अझै सास्ती खेप्नु परिरहेकाले ती शिक्षित युवालाई आफ्नो समुदायभित्र घुलमिल गराइ सहयोग प¥याउने उद्देश्यले समूह गठन गरिएको नेपाल चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङले बताए ।

चेपाङ समुदायको हकहितका लागि शिक्षित युवा सङ्गठित भएको युवा स्वयंमसेवक समूहका संयोजक दीपा चेपाङले बताइन । सीमान्तकृतभित्र पर्ने चेपाङ समुदायको जनसङ्ख्या २०६८ को जनगणना अनुसार ६८ हजार ३९९ मध्ये चितवनमा सबैभन्दा धेरै २९ हजार ९६३ जना रहेका छन् । रासस