देशका ठूला अस्पतालमै छैनन् दरबन्दीका चिकित्सक

काठमाण्डौं, ०४ बैशाख । देशका ठूला अस्पतालमै दरबन्दीअनुसार चिकित्सकहरू नभएको पाइएको छ । महालेखा परीक्षकको ५६ औँ प्रतिवेदनअनुसार देशभरका ठूला अस्पतालमा भएको दरबन्दीअनुसार चिकित्सकहरूको संख्या नभएको पाइएको हो। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १४ भन्दा बढी सरकारी चिकित्सक रहे पनि देशका ठूला अस्पतालमा विभिन्न खालका विशेषज्ञ चिकित्सकहरू नभएको पाइएको हो। देशका केन्द्रीय अस्पतालदेखि उपत्यकाभन्दा बाहिर भएका ठूला अस्पतालमा रिक्तमध्ये प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट, बालरोग विशेषज्ञ, वरिष्ठ कन्सल्टेण्ट सर्जन, अर्थोपेडिकसर्जन, रेडियोलोजिष्ट, साइकियाट्रिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल फिजिसियन, फिजिसियन, मेडिकलल्याव टेक्नोलोजिष्ट जस्ता विशेषज्ञ पदहरुको दरबन्दी रिक्त रहेको देखिएको हो। कुन अस्पतालमा कति चिकित्सक अभाव भर्खरै सार्वजनिक भएको महालेखा परीक्षकको परीक्षकको प्रतिवेदनको आधारमा हाल महाकाली अञ्चल अस्पताल, कञ्चनपुरमा १७ चिकित्सकको स्वीकृत दरबन्दी भए पनि १४ रिक्त रहेका छन्। यस्तै, देशकै एक मात्र केन्द्रीय सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना चिकित्सकको पदपूर्ति भए पनि हाल चार जना चिकित्सकको उपस्थिति देखिएको छैन। त्यसैगरी चिकित्सक तथा उपकरणको अभावमा गोरखा अस्पतालले यो वर्ष ९५४ जना र वेनी अस्पताल म्याग्दीले १ हजार ३३१ जना अन्यत्र सिफारिस गर्नुपरेको छ। त्यसैगरी, गुल्मी जिल्ला अस्पतालमा स्वीकृतदरबन्दी अनुसारको पदपूर्ति नभई तथा दरबन्दीमा नियुक्त २ चिकित्सक अन्यत्र काजमा गएको, टीकापुर अस्पताल, कैलालीमा दक्षिण कोरियाको सहयोगमा ३ बेड क्षमताको भेन्टिलेटरसहितको आइसीयु र एनआइसियु कक्ष तयार भएता पनि विशेषज्ञ चिकित्सक ९ मध्ये ८ दरबन्दी रिक्त रहेकोले सञ्चालन हुन नसक्दा प्रयोगविहीन अवस्थामा रहेको छ। जसले गर्दा बिरामीले गुणस्तरीय सेवा पाउन मुश्किल भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै मन्त्रालयअन्तर्गत प्रशासनिक र स्वास्थ्य सेवामा ७७ जिल्लाका स्वास्थ्य तथाजनस्वास्थ्य कार्यालयअन्तर्गत ४५८ चिकित्सक, १३ हजार ७८५ पारामेडिक्स र ८ हजार ८१६ नर्सिङस्टाफसमेत कुल २३ हजार ५७ दरबन्दी रहेकोमा क्रमशः चिकित्सक १९४, पारामेडिक्स ४ हजार १४६ रनर्सिङ स्टाफ २ हजार ५९७ समेत ६ हजार ९३७ पद रिक्त रहेकोले रहेको समेत पाइकएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। हाल जाजरकोट १७ मध्ये ९,अछाममा ४ मध्ये २, दार्चुलामा ५ मध्ये २, डोटीमा ५ मध्ये ३, अर्घाखाँचीमा ६ मध्ये २, सप्तरीमा ३२ मध्ये२७ र महोत्तरीमा १२ मध्ये ४ पदहरु रिक्त रहेको छ। प्यारामेडिक्सतर्फ ताप्लेजुङमा १६७, भोजपुरमा १९४,कालीकोटमा ९२, डोल्पामा ७४, बैतडीमा २०६ रहेकोमा क्रमशः ८०, १००, १९, ३० र ११० समेत ३३९ पद खाली रहेको छ। नर्सिङतर्फ संखुवासभामा ८५, खोटाङमा १६२, गोरखामा १४८, डोल्पामा ५१, हुम्लामा ५७ दरबन्दी रहेकोमा क्रमशः ४१, ७३, ५७, ३४ र २० समेत २२५ पदपूर्ति भएको छैन। प्यारामेडिक्स तर्फ काठमाडौंमा २६७, रुपन्देहीमा २७६, ललितपुरमा १६६, चितवनमा १५८ र कास्कीमा १४५ दरबन्दी रहेकोमाक्रमशः २०, ४४, १५, २१ र ३१ समेत १३१ पद रिक्त रहेको देखिन्छ। चिकित्सक तथा पारामेडिक्स पदहरु रिक्त रहेको अवस्थामा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न गएको छ।