माइती नेपालको गतिविधिबारे छलफल

चितवन, २९ चैत । माइती नेपाल चितवन शाखाले गर्दै आएको कामको बारेमा जिल्लाका सरोकारावालाहरुलाई जानकारी गराइएको छ । माइती नेपाल चितवन शाखाले मानव बेचबिखनलाई रोक्न के कस्ता गतिविधि सञ्चालन गरिरहेको छ र आगामी दिनमा कसरी कार्य गर्नुपर्दछ भन्ने विषयमा सरोकारवाला निकायसँग समन्वय बैठक बसेको हो ।
शुक्रबार भरतपुरमा भएको समन्वय बैठकमा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले माईती नेपालले चितवन सहित बारा, पर्सामा पछिल्लो समय भएको गतिविधि बारे जानकारी दिनुभएको थियो । बैठकमा जिल्लामा रहेका सरकारी निकाय र गैरसरकारी निकायबीचको समन्यवले कार्यस्थलमा केही सहजता भए पनि अझै स्थानीय तहमा समन्वय नहुँदा कतिपय सीपमूलक कार्यहरुमा हिंसा र बेचबिखनमा परेका महिलाहरु बन्चीत हुनु परेको निष्कर्ष निकालिएको थियो । जिल्ला समन्वय समिति चितवनमा प्रमुख कृष्ण कुमार डल्लाकोटीले मुलुक सभ्य बनाउन लागि परेर राजनीतिक परिर्वतन भएपनि मानवले मानवलाई बेच्ने जस्तो लाजमर्दाे कुराले शिर उठाउन नदिएको बताउनुभयो ।
डल्लाकोटीले शिक्षित र सभ्य मानिएको चितवन जिल्लामा नै बुबाबाट छोरी बलत्कृत हुनुपर्दा अन्य ग्रामीण क्षेत्रमा नराम्रो असर पर्ने भन्दै दुख ब्यक्त गर्नुभएको थियो । बैठकमा महिला अधिकारकर्मी मिना खरेल, महानगरपालिकाका सामाजिक अधिकृत तुलसी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा श्रेष्ठ, सरकारी वकिल, सशस्त्र प्रहरी निरीक्षक, विभिन्न महिला अधिकारकर्मीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।