दाल भात तरकारीको टोली देश दौडाहामा

चितवन, २९ चैत । आगामी बैशाख २० गतेदेखि प्रदर्शनीको तयारीमा रहेको नेपाली चलचित्र दाल भात तरकारीको निर्माण टोली देश दौडाहामा हिँडेको छ । पूर्वको विर्तामोडबाट सुरु भएको देश दौडाहा दमक, इटहरी, हेटौँडा हुँदै चितवन आइपुगेको हो ।
हास्यअभिनेता किरण केसीको प्रस्तुति रहेको फिल्मको युनिटले आइतबारदेखि यात्रा थालेको थियो । निर्माण टोलीले शुक्रबार नवलपुरको गैंडाकोटमा पत्रकार सम्मेलन गर्दै चलचित्रलाई राम्रो बनाउने कोशिस गरिएको बताए । पत्रकार सम्मेलनमा कलाकार हरिवंश आचार्यले शुक्रबारदेखि प्रदर्शनी भएको चलचित्र यात्रा र ए मेरो हजुर ३ लाई शुभकामना दिँदै पछिल्लो समय नेपालको बजारले धान्ने भन्दा बढी चलचित्र निर्माण भएको बताउनुभयो ।
नेपाली चलचित्रले गुणस्तरलाई भन्दा मात्रालाई प्राथमिकता दिएका कारण दर्शकहरुले नेपाली चलचित्र मन पराउन छोडेका आचार्यले बताउनुभयो । राम्रा खालका चलचित्र निर्माण गर्ने हो भने वर्षमा २० वटा मात्रै चलचित्र निर्माण गरेपनि सफलता पाउने र दर्शकहरुले मन पराउने आचार्यको भनाइ थियो । चलचित्र दाल भात तरकारी हास्य चलचित्रका साथमा पूर्ण पारीवारिक चलचित्र भएको आचार्यको भनाइ छ ।
नेपाली चलचित्रले हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आचार्यले आफूहरुले निर्माण गरेको चलचित्रमा स्वदेशमा नै दालभात तरिकारी खाएर समृद्धिको यात्रामा सहभागी हुनुपर्ने सन्देश दिइएको बताउनुभयो । देश दौडाहामा आएका हरिवंश आचार्यसँगै किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाललगायतले चलचित्रको बारेमा जानकारी गराउनुभएको थियो । हरिवंश आचार्यले स्क्रिप्ट लेखेको चलचित्रमा हरिवंश स्वयं, निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठलगायतले अभिनय गरेका छन् । दीर्घ गुरुङले खिचेको चलचित्रको निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत छन् ।