सरकारले विप्लवलाई राजनीतिक प्रतिवन्ध लगाएको छैन : गृहमन्त्री थापा

पोखरा,  सरकारले नेत्र बिक्रम चन्द –विप्लव) समूहलाई राजनीतिक प्रतिवन्ध नलगाएको दावी गर्दै गृहमन्त्री रामबहादुर थापाले उक्त समूहले गरेका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि मात्रै प्रतिवन्ध गरेको प्रस्टाएका छन् । आइतबार गृह मन्त्रालयद्वारा आयोजित दुई दिने गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले विप्लव समूहले गैरकानूनी गतिविधि छाडेर राजनीतिक मूल धारमा आउन चाहेमा सरकारले स्वागत गर्ने बताएका छन् ।

‘विप्लव समूहलाई मूल राजनीतिक धारमा ल्याउन छलफल अगाडि वढिरहेको छ’ मन्त्री थापाले भने, ‘विप्लव समूहलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाएको छैन । उनीहरुका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि प्रतिवन्ध हो । यदी विप्लव समूह राजनीतिक मूल धारमा आउन चाहेभने सरकारले सदाका लागि वाटो खुला राखेको छ ।’ विप्लव समूहपनि सीके राउत जसरी नै मूलधारको राजनीतिमा आएर शान्तिपूर्ण रुपमा आफ्ना मुद्दाहरु उठाउन सक्ने उनको भनाई छ । सरकारले एक बर्षे अवधिमा नै देशमा शान्ति सुरक्षा कायम राख्न सफल भएको उनले दाबी गरे ।

सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिँदै गृहमन्त्री थापाले जुनसुकै परिस्थितीको सामना गर्न सुरुक्षाकर्मीहरु तयार रहन आवश्यक रहेको समेत बताएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए ।