आदिकवि भानुभक्त माविले स्वर्ण महोत्सवको आयव्यवय सार्वजनिक गर्यो

चितवन, २४ चैत । भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढमा रहेको भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको हिसाब किताब सार्वजनिक गरेको छ ।
गत माघ २२ गतेसम्म आयोजना गरिएको महोत्सवको सम्पूर्ण आयव्यय शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । महोत्सवमा विद्यालयले एक करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी खर्चको विवरण प्रस्तुत गरेको थियो । विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन भएको रकम मध्ये ५१ लाख रुपैयाा अक्षयकोषमा राखिएको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाले ७४ लाख ६५ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताए ।
महोत्सवको सम्पूर्ण खर्च भने ९६ लाख २३ हजार रुपैयाँ भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । स्वर्ण महोत्सवबाट संकलन भएको रकमले विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारहरुको निर्माण एवम् मर्मतकार्य गरिएको, ईलाइब्रेरी निर्माण गरिएको, स्मार्ट बोर्ड सहितको बालमैत्री कक्षाकोठा निर्माण गरिएको सापकोटाको भनाइ । आदिकवि भानुभक्त माविका व्यवस्थापन समिति अध्यक्ष बद्रिप्रसाद अधिकारीका अनुसार स्वर्ण महोत्सवकै कारण विद्यालयले आठ कठ्ठा पाँच धुर जग्गा समेत फिर्ता गराउन सफल भइरहेको छ । विद्यालयको नाममा रहेको सो जग्गा ३५ वर्षदेखि नारायणी लिफ्ट सिँचाईले प्रयोग गरिरहेकोमा हाल फिर्ता पाइएको अधिकारीले बताए ।
पाँच वर्षभित्र विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने, आगामी शैक्षिक सत्रबाट कक्षा ११ मा विज्ञान विषय बढाई गर्ने, १८ महिने सर्वे इन्जिनीयरिङ अमिनको पढाई गर्ने, अङ्ग्रेजी र नेपाली माध्यममा छुट्टछुट्टै ब्लकबाट पढाई सुरु गर्ने अधिकारीले बताए ।