स्वदेशी लगानीको संरक्षण हुन्छ : मन्त्री लम्साल

लेखनाथ २२, चैत ।

रिसोर्टको उद्घाटनका अवसरमा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन उद्योगमा भएको स्वदेशी लगानीलाई संरक्षण गरिने बताएका छन् । मन्त्री लम्सालले पर्यटन क्षेत्रमा आउने समस्याले स्वदेशी लगानीकर्ता टाट पल्टने अवस्था आउन नहुनेमा जोड दिए । राज्यका कुनै पनि निकाय र नीतिका कारण पर्यटन व्यवसायीलाई अप्ठ्यारो नपर्ने उल्लेख गर्दै, ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।

पोखरामा क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यहाँका रिर्सोट तथा होटलले सेवा दिएरै नभ्याउने दावी गरे । ‘पोखरा संभावनाको शहर हो,’ उनले भने, ‘त्यसमा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदैछ, त्यो देखेर पनि विदेशी ठुला लगानीकर्ताले झण्डै २ सय होटलमा लगानीका लागि ठाउँ र वातावरण खोजेका छन् ।’ लगानी सम्मेलनमा आएका चिनियाहरुले पर्यटन उद्योगमा लगानीका लागि ठाउँ खोज्दै पोखरासम्म आइपुगेको समेत उनले बताए ।

गण्डकी प्रदेशले २०१९ लाई आन्तरिक पर्यटन वर्षका रुपमा अभियान अगाडि बढाइरहँदा पछिल्ला समयमा पोखरामा निर्माण भएका होटल तथा रिर्सोटले थप सहयोग पु¥याउने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइरालाले रिर्सोटको संचालनबाट रोजगारीको अवसर सिर्जना भएको उल्लेख गर्दै स्थानीय कृषकको उत्पादनले समेत स्थान पाउनुपर्नेमा जोड दिए ।

रिर्सोटको संचालनबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै जनाले रोजगारी पाउने उल्लेख गर्दै राज्यले पर्यटन उद्योगलाई विशेष महत्वका साथ हेर्नुपर्नेमा जोड दिए । अर्का सांसद विन्दु कुमार थापाले पर्यटकीय संभाव्यता बोकेका गण्डकी प्रदेशका सवै क्षेत्रमा सुविधा सम्पन्न रिर्सोट तथा होटल खुल्नु पर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले वातावरण बनाउनु पर्नेमा जोड दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले खेर गइरहेको जमिनलाई व्यवस्थापन गरेर आकर्षक रिर्सोट संचालनमा आएको भन्दै त्यसलाई संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।