अनिता पौडेल हत्या प्रकरण – श्रीमान र भिनाजुको संलग्नता

कपिलबस्त, चैत २२ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरि अनिता पौडेल हत्याप्रकरणमा संलग्न हत्यारालाई सार्वजनिक गरेको । विगत ६ वर्षदेखि श्रीमान श्रीमतीबीचको असमझारी र बिबादको मौकाको फाइदा तेस्रोपक्षले उठाएपछि गत फाल्गुण ११ गते मध्यरातमा कपिलबस्तुको बाणगंगा नगरपालिका ४ झुंगामा २८ बर्षिय अनिता पौडेलको हत्या भएको थियो। पौडेलको हत्यामा आफ्नै श्रीमान र भिनाजुको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ। मृतककै निवासमा पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ।
हत्यामा अनिताका श्रीमान बाबुराम पौडेल, भिनाजु श्रीहरि गौतमसहित गुनाखर अधिकारीको संलग्नता रहेको कपिलवस्तु प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रहरीका अनुसार अनितालाई पारिवारिक बिवाद र सम्पत्तीका कारण नै हत्या गरिएको हो। भिनाजुसँग मृतकका ससुराले घर बनाउन १४ लाख ऋण सापटी लिएका र मृतक अनिताका श्रीमानश्रीमती बीच विगत ५ बर्षदेखि अंश मुद्धा चलिरहेकोले पनि पारिवारिक बिवाद र सम्पत्तीका कारण नै हत्या भएको कपिलबस्तुका प्रहरी प्रमुख अच्युतम पुडासैनीले बताए।
हत्यामा संलग्न अधिकारी रुपन्देही देवदह नगरपालिका, ३ चरङगे निवासी रहेको प्रहरीले जनाएको छ। उनी रुपन्देही कारागार र रामेछाप काराकारमा करिब ४ बर्ष कैद भुक्तान गरि घर फर्केको बुझिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्नलाई प्रहरीले चैत्र २१ प्रहरीले नियन्त्रणमा लिएको थियो।
मृतक अनिताका ८ बर्षिय छोरा र १० बर्षिय छोरी छन्। देवदहका अधिकारी घर फर्किसकेपछि मृतकका भिनाजु गौतमले फोन सम्पर्क गरी भेटघाटसमेत गर्ने गरेको बुझिएको छ। सहोदर साला र श्रीमती अनिता पौडेलबीच अंशमुद्धा चलिरहेको अवस्थामा मुद्धा मिलाईदिन्छु भनेर भिनाजु गौतमले हत्या गर्न ७ लाख रुपैयाँ दिने र आफूले गर्ने ठेक्कापट्टा गर्ने ठाउँमा मासिक २५ हजारको जागिर दिन्छु भनी प्रलोभनमा अधिकारीलाई पारी घटना घटाएको प्रहरीले जनाएको छ।