चितवनमा एउटै परिवारका तीन जनाले गरे आत्महत्या

चितवन २२ चैत । चितवनको भरतपुरमा एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन । जिल्लामै यस प्रकारको दर्दनाक घटना पहिलो पटक भएको छ । भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरमा बस्दै आएका एउटै परिवारका तीन जनाले आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ । घर भित्र एकै स्थानमा तीन वटा सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १४ वर्षीया छोरी विनिता र अन्दाजी १२ वर्षीय छोरा विवेक झुण्डिएर आत्महत्या गरेका हुन् । उनीहरुको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले जानकारी दिए । मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्डाएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।