हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले एक करोड रुपैंयाँ दिने

काठमाडौं १९ चैत। प्रदेश नं ३ सरकारले बारा र पर्साका आंधीवेहरी प्रभावितहरुलाई आवास निर्माणका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

हेटौडामा आज बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।

तत्कालका लागि एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने बताइएको छ ।

यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यस सम्बन्धमा सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभामा जानकारी गराउने र तलबबाट सिधै काटेर सहयोग गर्ने निर्णय गरेको हो ।