भारतबाट उद्धार गरिएकी युवतीलाई परिवारको जिम्मा

चितवन, १८ चैत । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ की २५ वर्षीया युवतीलाई भारतको नयाँ दिल्लीबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
कुरुक्षेत्र जाने भनेर चैत ११ गते घरबाट हिँडेकी युवतीलाई माइती नेपालको सहयोगमा उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीका अनुसार ११ गते घरबाट हिँडेकी युवती १२ गते राजथला टुर्स एण्ड ट्राभल्स प्रालिको बसबाट नेपालबाट नयाँ दिल्लीको लागि प्रस्थान गरेकी थिइन् । युवती घरबाट सानीमाको घर गैंडाकोट जाने भनेर निस्किएपनि त्यहाँ नपुगेपछि परिवारले ११ गते नै माइती नेपालमा जानकारी गराएपछि उनको उद्धार गर्न सजिलो भएको हो ।
युवतीको बारेमा सबै बुझेपछि माइती नेपाल चितवनले माइती इन्डियासँगको सहकार्य गरी ती युवतीलाई चैत १३ गते उद्धार गरेको थियो । उद्धार गरिएकी युवतीलाई आइतबार राति १ बजे चितवन ल्याएर सोमबार परिवारको जिम्मा लगाइएको हो । युवतीका अनुसार करिब साढे एक महिना अगाडि भारतको कुरुक्षेत्रका एक जना व्यक्तिसँग फेसबुकमा चिनजान भएपछि उनकै भरमा काम पाइने आशमा उनी भारत पुगेकी हुन् ।
नौ वर्षीया छोरी र सात वर्षीय छोराकी आमा ती युवती घर बनाउँदा लागेको ऋणले तनाव आएपछि काम पाइने आशमा भारत गएकी हुन् । उनका पति वैदेशिक रोजगारका लागि दुबई गएको भएपनि भनेको बेला पैसा नपठाउँदा साहुहरु आएर मानसिक तनाव दिने गरेकोले परिवारका कसैलाई पनि खबर नगरी भारत गएको बताउँछिन् । ती युवतीलाई सोमबार उनकी आमा र पतिको जिम्मा लगाएर घर पठाइएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले बताइन् ।