खैरहनीका सुत्केरी महिलालाई यातायात खर्च प्रदान

चितवन, २८ फागुन । खैरहनी नगरपालिका वडा नम्वर १० र ११ मा सुत्केरी भएका महिलाहरुलाई मंगलवार यातायात खर्च वितरण गरिएको छ । सुत्केरी भईसकेपछि कम्तीमा तीन पटक स्वास्थ्य जाँच गराएका २१ जना सुत्केरी महिलाहरुलाई प्रोत्साहन स्वरुप जनही ५ सयका दरले यातायात खर्च वितरण गरिएको हो ।

कठार स्वास्थ्य चौकीको आयोजनामा मंगलवार आयोजित एक कार्यक्रमबीच उनीहरुलाई यातायात खर्च प्रदान गरिएको थियो । खैरहनी नगरपालिका मेयर लालमणी चौधरी,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीले सुत्केरी महिलालाई यातायात खर्च प्रदान गरेका थिए । सो अवसरमा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले यातायात खर्च कम भएपनि स्वास्थ्यका हिसावले महत्वपुर्ण रहेको वताए । चालु आर्थिक वर्षको साउनयता सुत्केरी भई स्वास्थ्य परिक्षण गराएका महिलाहरुलाई यातायात खर्च प्रदान गरिएको कठार स्वास्थ्य चौकी प्रमुख रामचन्द्र श्रेष्ठले वताए । खैरहनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माया पाण्डेले सुत्केरी भएको २८ दिन भित्र स्वास्थ्य जाँच गराएर वाल मृत्युदर घटाउने सरकारको लक्ष्यमा यो कार्यक्रमले सहयोग गर्ने वताईन् ।

खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले कार्यक्रमको उदेश्यका बारे जानकारी गराएका थिए ।