जीवराज सरसँग सहयात्रा

– केशव भट्टराई

सबैले मानिस मरिसकेपछि मात्र उसको गुणगान गाउने गर्छन् । योगदानको कदर गर्छन्, संघर्षको बयान गर्छन् । यो संसारकै रीत हो । मलाई लाग्छ, उहाँलाई पनि कसैले पनि जीवित छँदा उहाँको योगदान र संघर्षको कदर गरेन । चाहे परिवार होस्, चाहे कुनै संघसंस्था । उहाँ सधैँ तनाव र छटपटीमै रहनुभयो । गत जेठ ३० गते संस्थापक सम्पादक धर्मराज अर्यालको निधनपश्चात् उहाँको अनुहार कहिल्यै उज्यालो देखिएन । केही हराएजस्तो, केही नपुगेजस्तो, अभाव, बैचनी, हडबडाहट र छटपटीजस्तो भाव उहाँमा देखिन्थ्यो । धर्मराज सरको अभावमा निरासा र एक्लोपनले उहाँलाई नराम्रोसँग गाँजेको थियो । बेलाबेलामा उहाँ मलाई दाइले सँगै लैजानुहुन्छ भन्नुहुन्थ्यो । सायद अधिक प्रेमले गर्दा त्यसो भन्नुभएको हुनुपर्छ ।

संस्थापक सम्पादक धर्मराज अर्यालको निधनपश्चात् म स्वयम् रानो हराएको मौरीजस्तो हुनपुगेको थिएँ । घरमा बुबा बितेको शोक छँदै थियो, कार्यालयमा सन्नाटा र मनमा पीडा हुँदा म आफैँ बिरामी बन्न पुगेको थिएँ । केही महिनायता कार्यालयमा नियमित जान नसकिरहेको अवस्थामा केही दिन बिराएर जीवराज सरसँग भेट हुन्थ्यो । जीवनमै अन्तिमपल्ट अर्थात् दुई महिनाअघि सामान्य छलफलका क्रममा जीवराजसँग चर्काचर्कीजस्तै भयो । पत्रकारिताको दुई दशकको सहयात्राका क्रममा कहिल्यै कडारुपमा प्रस्तुत नहुनुभएका जीवराज सरसँग कुन संयोगले चर्काचर्की भयो, अहिले म आफैँलाई अनौठो र नमीठो लागिरहेको छ । संस्थामा रहेपछि कहिलेकाहीँ सामान्य वादविवाद हुनु सामान्य कुरा हो । तर, दुवै संस्थापकसँग सधैँभरि गहिरो र मित्रवत् सम्बन्ध कायम रह्यो । अभिभावक भईकन पनि आत्मीय र साथीको जस्तो व्यवहार गर्ने दुवै संस्थापकप्रति म आजीवन ऋणी छु ।

अहिले लाग्छ, जीवराज सरले संस्थाका लागि कति मरिहत्ते गर्नुभयो ? परिवारकै खुसीका लागि कति घामपानी सहनु भयो ? कति रात अनिँदो रहनुभयो ? उहाँसँग सम्बन्ध रहेका सबैलाई अवगतै छ । उहाँलाई संस्थामै पनि कतिले साहुका रुपमा हेरे, कतिले कठोर व्यवस्थापकका रुपमा बुझे, कतिले उहाँको रुखो व्यवहारलाई मात्रै निहाले ? कति तनाव सहेर उहाँले आफ्नो जिम्मेवारी निभाउनु भएको रहेछ, भविष्यमा त्यसको अनुभव हुँदै जाला । तर, असाधारण क्षमताका उहाँले कसैको मन नदुखाईकनै, कसैको आत्मा नरुवाईकनै, कसैसँग कुनै गुनासा नराखिकनै बिदा हुनुभयो ।

वास्तवमा जीवराज सबैका मित्र हुनुहुन्थ्यो । उहाँ संस्थाप्रति अनवरत चिन्तित हुनुभयो । अनावश्यकरुपमा पनि चिन्तित रहनुभयो । पत्रिकामा व्यवस्थापनको पाटो सम्हाल्नु चानचुने चुनौती होइन । व्यवस्थापनको विद्यार्थी भएका नाताले पनि यो पाटो कति चुनौतीपूर्ण छ भन्ने म बुझ्न सक्छु । उहाँको ज्ञानको विषय शिक्षण र सामाजिक क्षेत्र हो । तर, मान्छेले परे पछि जे पनि जान्नुपर्छ । उहाँले कुशल व्यवस्थापकका रुपमा आफूलाई उभ्याएर व्यवस्थापनको पाटो पनि सम्हाल्नुभयो । अत्यन्तै सफल हुनुभयो ।

राजधानीबाहिर मिडिया चलाउनुलाई मोफसलको पत्रकारिता भन्ने गरिन्छ । एकाधबाहेक राजधानीबाहिरका मिडियाहरु अझै आत्मनिर्भर बन्न सकेका छैनन् । त्यसैले भन्ने गरिन्छ मोफसलमा पत्रिका चलाउनु फलामको चिउरा चपाउनुबराबर हो । संस्थापक सम्पादक धर्मराज अर्यालले दुईदशक लामो सक्रिय पत्रकारिता जीवन व्यतित गरी ‘रिटायर्ड लाइफ’मा पत्रिका चलाउने धोको पूरा गर्ने क्रममा जन्मिएको चितवन पोष्टमा जीवराज अर्याल सहयात्रा गर्न आउनुभयो । सुरुवातका दिन पत्रिका चलाउन कति हम्मे प¥यो । त्यसको कुनै लेखाजोखा छैन । न बजार, न वितरण, न विज्ञापन भगवान् भरोसामा पत्रिका निस्कियो ।

सन्तान जन्माउन जति गाह्रो छ, हुर्काउन उति नै सकस हुन्छ । साप्ताहिक हुँदै दैनिकरुपमा हुर्किंदै गएको चितवन पोष्ट २१ वर्षे युवावयमा लम्किरहँदा जुन खुसीको सञ्चार हुन्छ, यसका जन्मदाताहरु नौ महिनाको समयअन्तरमा अस्ताउँदा उति नै पीडाबोध हुन्छ । मन एकतमास उकुसमुकुस, वातावरण एकाएक सन्नाटा र टाउको गह्रुँगो भएर आउँछ । खस्न नसकेको आँसु आँखाका डिलमा आएर रोकिन्छन् । हो मलाई अहिले त्यही अनुभूति भइरहेको छ । जतिसुकै शोक र वेदनालाई पनि सहनै पर्ने संसारको रीतलाई आत्मसात् गरी शोकलाई शक्तिमा बदल्ने साहस हामीले गरिरहेका छौँ ।

जीवराज सर सरल मिजासको हुनुहुन्थ्यो । आफ्नो ढिपी भने नछोड्ने खालको हुनुहुन्थ्यो । आफ्नो स्वास्थ्य अवस्था बिग्रँदो छ भन्ने जान्दाजान्दै पनि उहाँ धूमपानमा तल्लिन हुनुहुन्थ्यो । धूमपानको लत छाड्न घरपरिवारका सदस्यदेखि स्टाफ र आफन्तजनले जतिसुकै आग्रह गरे पनि उहाँले सक्नुभएन । प्रतिकूल स्वास्थ्य अवस्थाबीच पनि उहाँले आफ्नो अभिभारा पूरा गर्दै जानुभयो । उहाँ सानादेखि ठूलासम्मका साथी हुनुहुन्थ्यो । नमस्ते गर्दा उहाँले हात मिलाउने गर्नुहुन्थ्यो । धर्मराज सरले झैँ सधैँ तपाईं हाम्रो पारिवारिक र जिम्मेवार पत्रकार भनेर ढाडस दिनुहुन्थ्यो । कहिल्यै उहाँले आफू व्यवस्थापक हूँ भन्ने घमण्ड गर्नुभएन । सामान्य जीवनशैली र साथित्वको सरल व्यवहार दर्शारहनुभयो ।

अधिकांश समय चिया पिउँदा उहाँ परिवारको व्यवस्थापन र व्यावहारिक जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुहुन्थ्यो । भरतपुरमा घडेरी किन्दा उहाँ जीवनमै सबैभन्दा धेरै खुसी हुनुभएको थियो । र, खुसियालीमा लड्डुसमेत खुवाउनुभएको थियो । सो घडेरीमा आकर्षक घर बनाएर परिवारलाई राख्ने र पुख्र्यौली थलो वीरेन्द्रनगरमा पनि सानो चिटिक्कको घर बनाएर रिटायर्ड लाइफ बिताउने उहाँको सपना थियो । भरतपुरमा निर्माणाधीन घरमा बस्न नपाउँदै उहाँको अल्पायूमै निधन हुन गयो । जीवनभर दुःख गरेर जीवनको अन्तिम धोको पूरा गर्न नपाईकनै उहाँले यात्रा छोट्याउनुभयो । यसमा भने उहाँको धोको अधूरै रह्यो ।

मानिसका सबै इच्छा आकांक्षाहरु पूरा हुँदैनन् । संघर्ष गर्दागर्दै के के न गर्छु भन्ने सोच्दासोच्दै मानिसका जाने दिन आइसक्छन् । यो सबैमा लागू हुने कुरा हो । सबैजना एक दिन संसार छाडेर जाने नै हो । यसमा किमार्थ सन्ताप लिनु र शोक मानिरहनु आवश्यक पनि छैन । मानिसले संकल्प गरेका कुरा पूरा गर्नु नै ठूलो उपलब्धि हो । चितवन पोष्टमा दुवै संस्थापक धर्मराज र जीवराज सरले रंगीन क्लेबरमा पत्रिका प्रकाशन गर्ने संकल्प पूरा गरेरै जानुभएको छ । मानिसले जीवनभर कमाएको ख्याति र सम्पत्ति एकदिन छोडेरै जानुपर्छ । उहाँहरुले संसार छाडे पनि चितवन पोष्ट नासोका रुपमा सुम्पेर जानुभएको छ । आगामी दिनहरुमा चितवन पोष्टले अविचलितरुपमा निरन्तरताका साथ आफ्नो यात्रा तय गर्ने नै छ भन्ने मैले विश्वास लिएको छु । चितवन पोष्टको नेतृत्व अब दोस्रो पुस्तामा आएको छ । आफ्ना संस्थापकहरुको सोच र सपना पूरा गर्नु नयाँ व्यवस्थापनको कर्तव्य हुन आउँछ । आगामी दिनमा चितवन पोष्टको कुशल व्यवस्थापनबाट नै उहाँहरुप्रति सम्मान र सच्चा श्रद्धाञ्जली हुने मैले ठानेको छु ।