फरार अभियुक्त र लागुऔषध कारोबारी पक्राउ

हेटौंडा,फागुन २१ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्तीकरणी गरेर फरार रहेका दुई जना र लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। ‍

प्रहरीले सुस्तमनस्थितिकी २० वर्षीया  महिलालाई बलात्कार गरेर फरार रहेका हेटौँडा–११, सिमलटारका २१ वर्षीय वुद्धलाल मुक्तान र १६ वर्षीया बालिकालाई जबजरस्तीकरणी गरेर फरार रहेका बारा करैयामाई–३, करैयाका २३ वर्षीय जितेन्द्र मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार मुक्तानले सुस्तमनस्थितिकी महिलालाई फकाएर आफ्नो कोठमा गलेर फागुन १९ गते जबरजस्तीकरणी गरी विहान ३ बजेको समयमा पीडितलाई घर पठाएर फरार भएका थिए।

मुखियाले फागुन १९ गते राति १६ वर्षीया बालिकालाई ललाई फकाई हेटौंडा–५ स्थित आफ्नो साथी रामबहादुर विनको कोठामा लगेर जबरजस्तीकरणी गरेका थिए।

प्रहरीले उनको खोजी गरेसँगै उनी बारातर्फ भागेका थिए। यसैगरी, प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–४ का भीमबहादुर ब्लोनलाई आफ्नो घरमा लागुऔषध गाँजा एकसय केजी चारसय ६० ग्राम लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोही स्थानका ४९ वर्षीय भक्तबहादुर ब्लोनलाई दुईसय ग्राम लागुऔषध अफिमसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।