देशभक्त मोर्चाको मेची महाकाली अभियान, हस्तक्षेप गरे हतियार उठ्न सक्छ :  नेता गजुरेल

चितवन, फागुन २१ । नेकपा (क्रान्तिकारी माओवादी ) का वरिष्ठ नेता सिपी गजुरेलले अहिलेकै सत्ताले समाजवादी व्यवस्था स्थापित गर्नै नसक्ने जिकिर गरेका छन्।

देशभक्त जनगणतान्त्रिक मोर्चाको मेची महाकाली अभियानका क्रममा चितवन आइपुगेका गजुरेलले अहिलेकै अवस्थाले समाजवादको आधार तय नगर्ने बताएका हुन्।  सच्चा कम्युनिस्टको सरकारले गाँस, बास, कपास, शिक्षा लगायत जनताका आधारभूत आवश्यक्ताहरू निशुल्क गर्नुपर्ने भन्दै नेता गजुरेलले वर्तमान सरकारबाट त्यस्तो कुनै गतिविधि नदेखिएको टिप्पणी गरेका छन्।

यस्तो अवस्थामा समाजवाद सम्भव देखिँदैन। वर्तमान सत्ताप्रति आक्रोसित बनेका नेता गजुरेलले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर हाल बनेको नेकपा सच्चा कम्युनिस्ट नभएको बताउदै भने, ‘यो बक्वास मात्रै हो।’ ‘एमाले कम्युनिस्ट पार्टी होइन। प्रतिक्रियावादीमा रुपान्तरण भइरहेको छ।

विगतमा पनि एमालेकै सरकार भएको बेला हतियार उठेको कुरा प्रचण्डलाई पनि थाहा छ’, उनले भने, ‘तर उहाँ पनि अहिले माओवादी बलीदानलाई धोका दिएर त्यही दुसित पानीमा घुल्नु भो। अब नेकपा कसरी कम्युनिस्ट पार्टी भयो?’  देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक समेत रहेका नेता गजुरेलले विप्लव नेतृत्वको नेकपा आधारभूत रुपमा क्रान्तिकारी नै भएको बताए।

संविधान र सत्ताको विरोध गरिरहेकाले क्रान्तिकारी मान्न सकिए पनि तत्काल पार्टी एकता भने सम्भव नभएको उल्लेख गर्दै उनले भने, ‘क्रान्तिकारी जति सवै कम्युनिस्ट नै हुन्छन् भन्ने पनि छैन। विप्लवले पार्टीको नामबाट माओवादी शव्द नै हटाउनुलाई निकै अर्थपूर्ण, रहस्यमय छ।’  नेता गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले निरीह बनेर बसेको बताए।

अहिलेको अवस्थामा केही गर्न सक्ने अवस्थामा नरहेको भन्दै अब कांग्रेसबाट केही होला भन्ने नरहेको भन्दै उनले भने, कांग्रेसबाट अब मुलुकलाई कुनै आश छैन।

गजुरेलले आफुहरु जनताको सत्ता निर्माण गर्न नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको बताए। मोर्चाले अहिले चलाएको देशव्यापी अभियान पनि त्यसैको पूर्व तयारी रहेको उनको भनाई छ। अभियानका क्रममा मुलुकभर नयाँ जनलहर पाएकाले अव चाँडै एउटा नयाँ आन्दोलन सुरु हुने उनले बताए।

वर्तमान सरकारले आन्दोलका क्रममा दमन गरे, हिंसात्मक रुपमा हस्तक्षेप गरे प्रतिवादका क्रममा हतियार पनि उठ्नसक्ने उनले चेतावनी दिएका छन्। गजुरेलले विचार मिल्ने शक्तिसँग कार्यगत एकता गर्दै अघि बढेकाले मोर्चाको मेची महाकाली अभियानले क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउने वातावरण तय गरेको दावी गरे।