पद्मोदय खुल्ला भलिवल : सेमीफाइनल समिकरण पुरा

चितवन, १९ फागुन । पर्यटकीय नगरी पटिहानीमा “पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५” को सेमीफाइनल समिकरण पुरा भएको छ । फाइनल प्रवेशको लागि चुल्हो रेष्टुरेन्ट नारायणगढ र डि.ए.सी. बल्हुवा एवं कालीबहादुर गढ भरतपुर र हनुमान नगर युथ क्लव बीच प्रतिस्पर्धा हुने छ । आज भएको खेलमा चुल्हो रेष्टुरेन्टले सेभेन स्टार युवा क्लव भरतपुरलाई पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो । चुल्होले सेभेन स्टारलाई २५ – १६ र २५–२३ को सोझो सेटमा पराजित गर्यो । डि.ए.सी. बल्हुवाले आयोजक पद्मोदय युवा क्लवलाई २५–१४ र २५–१० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो । फाइनलका लागि भोलि (सोमवार) नै हनुमान नगर युथ क्लवले काली बहादुर गण भरतपुरको सामना गर्ने छ । हनुमान नगरले आज भएको खेलमा सुन्दर संगम युवा क्लव सुन्दरवस्तीलाई २५–१८ र २५–१९ को सेटमा पराजित गर्यो । कालीबहादुर गण भरतपुरले भने समाज सेवा युवा क्लव पदमपोखरीलाई २५–८ र २५–९ को सेटमा पराजित गर्दै सेमी–फाइनल प्रवेश गर्यो ।
शिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा जारि प्रतियोगिता भोलि (सोमवार) सकिने छ । हरेक वर्षको महाशिवरात्रीको अवसरमा प्रतियोगिता हुदै आएको छ । प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो ।
भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु५० हजार, रु ३० हजार र रु १०र१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताका प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् । बिगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्रा््ष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।