वन्यजन्तु दिवसमा कुमरोज वन क्षेत्र सरसफाई

चितवन फागुन १९ । विश्व वन्यजन्तु दिवस तथा सिविएपियु दिवसको अवसरमा कुमरोज मध्यवर्ती सामुदायिक वनमा सरसफाई गरिएको छ । दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज,बुढीराप्ती उपभोक्ता समिति,कुमरोज सामुदायिक वन,समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति र संरक्षण युवा क्लवको सयुक्त आयोजनामा सरसफाई गरिएको हो ।

कुमरोज वनको इचर्नी पोस्ट र जनकपुर पोस्टबाट दुई टोली विभाजन गरि जीप सफारीको सम्पुर्ण क्षेत्रमा सरसफाई गरिएको कुमरोज वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए । जीप सफारीको बाटोमा पर्यटकहरुले फालेका फोहोर टिपेर सफाई गरिएको थियो ।

फोहोरले वन्यजन्तुलाई असर गर्ने र अन्तराष्ट्रियस्तरमा समेत सन्देश राम्रो नजाने भएकाले दिवसको अवसर पारेर सरसफाई गरिएको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति कुमरोजका अध्यक्ष इश्वरी प्रसाद पाठकले वताए ।

बुढी राप्ती उपभोक्ता समिति अध्यक्ष नारायणदत्त तिमल्सीनाको अध्यक्षता तथा खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुमरोज वनका अध्यक्ष हिरावहादुर गुरुङ,समितिका सचिव रामबाबु श्रेष्ठ लगायतले वन र वन्यजन्तुको संरक्षणले पर्यटकको आवागमन वढ्ने र आर्थिक विकास हुने धारणा राखे । सरसफाईमा आयोजक पाँचै वटा संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।