नेपाल बारको नयाँ नेतृत्वको लागि मतदान सकियो

चितवन, १६ चैत । नेपाल बार एसोसिएसनको केन्द्रीय नयाँ नेतृत्व चयन गर्न शनिबार देशैभरी निर्वाचन भएको छ । बारमा २५ पदका लागि ६३ जनाले उम्मेदवारी दिएका थिए ।
नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजे शुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो । नयाँ नेतृत्वका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल नेतृत्वको टोली चुनावी मैदानमा छन् ।
एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानून व्यवसायीले साथ दिएका छन् । नयाँ शक्तिबाट अध्यक्षमा कृष्ण शर्मा, महासचिवमा डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा नारायण खरेल र सदस्यमा रामबहादुर मिजार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा मुख्यगरी एनएलए र डिएलएबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । संगठनात्मक मत भन्दा बढी स्वतन्त्र मतले नयाँ नेतृत्व पाउने कानून व्यवसायी बताउँछन् ।

बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छ । महिला उपाध्यक्ष १ र ७ वटै प्रदेशबाट १/१ जना गरी ८ उपाध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । बारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालत गरी १० ठाउँबाट मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।
त्यस्तै चितनवमा समेत शान्तिपूर्ण रुपमा बारको मदतान सम्पन्न भएको छ । जिल्लाको चितवन जिल्ला अदालत बार एशोसिएसन केन्द्रमा भएको बुथमा एक सय ८४ जनाले मतदान गरेका छन् । जिल्लामा एक सय ९९ जना मतदाता रहेका थिए । चितवनमा मतदान सकाएर शनिबार नै पतपत्र काठमाडौँ पठाइएको मुख्य निर्वाचन अधिकृत एवम् चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए ।
शनिबार भएको निर्वाचनको देशैभरीबाट मतपेटिका काठमाडौँ पुग्न दुई लाग्ने भएकाले सबै मतपत्र पुगेपछि मात्रै मतगणना सुरु हुने बताइएको छ ।