मदनकृष्ण श्रेष्ठ : ‘मर्निङ वाक’ जाँदा बाँचेको जस्तो आनन्द आउने रहेछ

नेपालमा ‘पार्किन्सन्स’ बारे धेरैलाई थाहा नै छैन। कतिपयलाई केही किताब पढेर यसको जानकारी मिलेको छ।  शनिबारको दिन थियो। पर्यटन बोर्डबाट म नयाँ बानेश्वर जाँदै थिएँ। एक जनाले दाइ आज पार्किन्सन्सको कार्यक्रम छ जाउँ न भन्नुभयो। मैले हाँसो गर्दै आज शनिबार हो, पार्किन्सन्स छैन भनिदिएँ।

पार्किन्सन्स बडा असजिलो रोग हो। एक जना डाक्टर साब सोध्दै हुनुहुन्थ्यो ‘हाउ इज योर हेल्थ मदन दाइ?’ भनेर। म भन्थे ‘नट गुड बट गुड।’ अर्थात् ठिक पनि छ, ठिक पनि छैन। हिजोआज धेरैले यो प्रश्न मलाई गर्नुहुन्छ। म सबैलाई भन्ने गर्छु– ‘हेल्थ’ राम्रो छ, शरीर राम्रो छैन।

केही दिनअघि रोल्पाको होलेरी पुगेका थियौं। जहाँ अक्षर महोत्सवको आयोजना हुँदै थियो। होलेरी भन्ने ठाउँ जहाँ कुनैबेला बमबारुदको महोत्सव हुनेगर्थ्याे। यसपटक त्यो ठाउँमा अक्षर महोत्सव हुँदैथियो। बडा ठिक लाग्यो मलाई पनि। हामी सबैजना उत्साहित पनि थियौं। त्यहाँ पनि विभिन्न विषयमा राम्रो बहस भयो।

अक्षर महोत्सव सकेपछि स्वर्गद्वारी जाने कुरा भयो। हामी गाडीमा गयौं। तर गाडीबाट ओर्लेपछि  एउटा गेट रहेछ। त्यहाँबाट स्वर्गद्वारी पुग्न ३०/४० मिनेट उकालो चढ्नुपर्ने रहेछ।

मलाई भने त्यो उकालो चढ्न आँट आइरहेको थियो। तर, अमर न्यौपाने भाइले ‘दाई घोडा ल्याउँ?’ भन्नुभयो। मैले सकेसम्म हिँडेर जाने हो भनेँ। हिँडेरै स्वर्ग पुगिन्छ भने किन नजाने?
त्यसपछि ‘स्वास्थ्य ठिक छ, शरीर गोलमाल छ’ भन्नुको सट्टा ‘स्वास्थ्य ठिक छ, शरीर पनि ठिक रहेछ’ भन्ने भयो। एक अर्थमा आफैंलाई ‘टेस्ट’ गरियो। स्वर्गद्वारी नै पुगेर आइयो भन्नसक्ने भएको छु। हिजोआज हिम्मत बढेको छ।

फेरिपनि कोठामा बसिराख्न गाह्रो छ। हातमा बल छैन। तर आत्मबल छ। त्यहि आत्मबलले नै सक्रिय हुन सकिरहेको छु। हिजोआज त मलाई अब आत्मबल मात्रै होइन हातमै बल चाहिने भइसक्यो।

एक पाइला, आधा पाइला हिँड्न पनि गाह्रो हुँदोरहेछ, त्यो आफूलाई परेर थाहा पाएँ।

०००

एउटा जोक्स भन्छु।

एकपटक एक जना कर्मचारी आफ्नो अफिसबाट चाँडै घर पुगेछन्। हस्याङफस्याङ गर्दै घर आएका श्रीमान्लाई देखेपछि श्रीमतीले सोधिछन्– तिमी किन आज चाँडै आउनुभएको? के भयो र?

श्रीमान्‌ले भनेछन्– मेरा अफिसका सबैजना एकैपटक मरे। म भने धन्न बाँचेँ।

श्रीमतीले फेरि सोधिछन्– तिमी मात्रै कसरी बाँच्यौं त?

श्रीमान्‌ले जवाफ फर्काएछन्– म चुरोट खान बाहिर निस्किएको थिएँ। त्यहि बेला यस्तो भयो। अब उनीहरुको परिवारलाई सरकारले एक÷एक करोड दिने भएछ।

श्रीमतीले जंगिदैं भनिछन्– तिमीलाई मैले कतिचोटि भन्ने, चुरोट नखाउ भनेर।

०००

पार्किन्सन्सले अर्को एउटा अप्ठेरो परेको छ। गीत गाउन श्वास नै पुग्दैन। हेहे गर्दागर्दै घाँटी सुक्छ। श्वास रित्तिजान्छ। आज ट्र्याक ल्याएको छैन यसै गीत गाउँछु।

सबैले माया मारेर के भो तिमी छँदैछौं मलाई प्यार गर्ने
तिमीले पनि मायाँ दिन नभ्याउँदा आँशु छँदैछ मलाई स्याहार गर्ने।

मैले यो गीत श्रीमतीलाई सम्झेर लेखेको हुँ। उनी बितिन्, त्यतिबेला म साह्रै अप्ठेरोमा थिएँ। धेरैजना आर्यघाट नै आउनुभयो। घरमै आएर धेरै जनाले समवेदना र हिम्मत दिनुभयो। तपाईं सबैले मलाई आफ्नो सम्झिनुभयो। मलाई थाहा भयो जिन्दगीमा यति मान्छे कमाएको रहेछु। यति धेरै मान्छेको माया पाएँ।

अहिले लाग्छ, यो गीतमा भनिएको ‘तिमी’ तपाईंहरु सबैलाई भनेको हुँ। अब भने गीत गाउँछु।

तिमीले भन्दा धेरै माया दिने अरु पनि धेरै–धेरै छन्
तर तिम्रो मायाको महत्व मलाई बेग्लै लाग्दछ, बेग्लै लाग्दछ
तिम्रो माया बेग्लै लाग्दछ

मेरो लागि मुटु ओछ्याइराख्ने मेरा आफन्त छन्
मलाई दुख्दा निस्वार्थ आशुँ झार्ने आँखाहरु छन्
कतै मेरो नाउ डुबे सहारा तिम्रा हात छन्
तिमीबाहेक मलाई साथ दिने अरु पनि धेरै–धेरै छन्
तर तिम्रो मायाको महत्व मलाई बेग्लै लाग्दछ, बेग्लै लाग्दछ
तिम्रो माया बेग्लै लाग्दछ

यहाँ फुल्ने फूलहरु कम मनमोहक छैनन्
आकाशमा जुन हेर्छु फूलभन्दा कम छैन
फेरि म तिमीलाई हेर्छु केहीभन्दा कम छैनौं
भगवानको संरचनामा बेमतलब विषय नै छैन
तर तिम्रो मायाको महत्व मलाई बेग्लै लाग्दछ, बेग्लै लाग्दछ
तिम्रो माया बेग्लै लाग्दछ
तिमीले भन्दा धेरै माया दिने…..

०००

रमाइलो भइरहेको छ। लिटरेचर फेस्टिबलमा हामी पार्किन्सन्सको कुरा गरिरहेका छौं।

सायद मलाई पार्किन्सन्स अल्लि पहिले देखि नै थियो होला। म बिस्तारै अनि सानो स्वरमा बोल्ने, बिस्तारै हिँड्ने, बिस्तारै खाने खालको मान्छे। धेरैले मलाई कस्तो होला मदनकृष्ण, कसरी बोल्छ होला? लगायतका जिज्ञासामा मलाई भेटेपछि फरक जवाफ पाउनुभयो होला। तर, बोल्दा भने रमाइलो गरेरै बोल्थेँ। सायद त्यतिबेला देखिनै मलाई पार्किन्सन्स थियो होला। पछि बढ्दै गयो।

सुरुमा मलाई ढाड दुख्ने समस्या भयो। ‘ब्लड टिस्यू’ (रक्तनली) च्यापिएको भनेपछि त्यसको अप्रेसन गराएँ। त्यसको केही वर्षपछि हिँड्दाखेरि मलाई फेरि दुख्न थाल्यो। यो क्रम बढ्दै गयो र उपचार गराउँदा मलाई पार्किन्सन्स भएको जानकारी मिल्यो।

डाक्टरले त्यसपछि भने– तपाईंलाई अब जोसुकै डाक्टरले हेरेपनि औषधिको डोज बढाइदिने मात्रै हो। कोही अरु नै पार्किन्सन्सको औषधि खाइरहेको बिरामी मकहाँ आएपनि मैले पनि त्यहि गर्ने हो।

त्यसपछि मैले पनि औषधि खान सुरु गरेको हुँ। पछि भने पुनः टाउको र छातीको अप्रेसन गरियो र ब्याट्री राखियो।

त्यसपछिबाट आजसम्मका दिनसम्म धेरै सजिलो हुँदै आएको छ। बोली स्पष्ट हुँदैनथ्यो। तर, अहिले केही सहज छ। अनुहार निन्याउरो र रङ उडेको जस्तो भइरहन्छ। फोटो खिच्न लाग्यो निन्याउरो, रोएकोजस्तो देखिनुभयो भन्नुहुन्छ। जबरजस्ती ङिच्च पारेर हास्नुपर्ने स्थिति छ।

तबला बजाउनेको औंला भाँचियो भने तबला बजाउन सक्दैन, त्यस्तै कलाकारको ‘एक्सप्रेसन’ नै नभएपछि कसरी कला देखाउने? त्यसकारण अहिले सेकेन्ड गेरमा जिन्दगी चलिरहेको छ। हल्का रफ्तारमा।

०००

‘महको म’ लेख्नेबेला मलाई पार्किन्सन्स थियो, श्रीमतीाई क्यान्सर। हात काँपेर कलम नै समाउने स्थिति थिएन। बडा दुःखका साथ १ लाख २० हजार शब्द लेखें। त्यतिबेला म निक्कै संवेदनशील समय काटिरहेको थिएँ। भनिन्छ नि– भवगान जब देता हे तो छप्पर फाडकर देता है। मलाई पनि छप्पर फाडकर नै दिएको थियो त्योबेला। रत त्यो पुस्तक लेख्न सकें।

केही दिनअघि एक कार्यक्रममा भारतबाट एक जना डाक्टरसाबसँग भेट भयो। उहाँलाई पनि पार्किन्सन्स भएको रहेछ। उहाँले कस्तो छ भनेर सोध्दा मैले भनेको थिएँ– आई ह्याभ अ पार्किन्सन्स एन्ड आई एम इन्जोइंग पार्किन्सन्स।

पार्किन्सन्सले रचनात्मकता बढाउँछ भन्छन्, तर ‘मेमोरी’ पनि उत्तिकै ‘लस’ हुँदो रहेछ।

 

मलाई लाग्छ हरेक मानिस ‘हेल्थ कन्सस’ हुनैपर्छ। अहिले मानवको सरदर आयु पनि बढिरहेको छ। समयक्रमसँगै विज्ञानले धेरै फड्को मारेको छ। मानिस आफैंले आहारविहारमा ध्यान दिनुपर्ने रहेछ भन्ने बोध गर्दै गएका छन्। यो अवस्थामा अरु केही नगरेपनि दिनमा कम्तिमा ५ सय मिटर भने हिँड्नैपर्छ। दौडनैपर्छ।

केही समय पहिले प्रेसरको औषधि खान थालेको हुँ। प्रेसरको औषधि खान थालेपछि दौडिन हुँदैन भन्ने सुनेको थिएँ। त्यही क्रममा शिक्षण अस्पतालका एक जना डाक्टरसाबले भेटमा सोध्नुभयो– कत्तिको दौडिने गरेका छौ?

मैले भनेको थिएँ– प्रेसरको औषधि खान थालेपछि त दौडिन छोडिदिएँ।

उहाँले कसले भनेको भन्दै मलाई ‘प्रेसरको औषधि खानी अनि दौडिनी’ भन्दै सुझाउनुभयो। अहिले पनि यहि कोशिषमा हुन्छु। अहिले ठिकै छ। म ‘योङ’ पनि देखिएको छु। यहाँ हुनुभएकामध्ये खगेन्द्र संग्रौला दाई मभन्दा धेरै जेठोजस्तो लाग्छ। अरु सबै त मेरै उमेरकोझैं लाग्छ।

०००

शरीरका सबै अंगहरुका आ–आफ्नै काम छन्। आँखा, नाक, कान, कलेजो, फोक्सो, आन्द्रा, भुँडीसबैको उत्तिकै महत्व छ। सरकारले यो सबै अंगको उपचारका लागि उत्तिकै ध्यान देओस्, निःशुल्कै गरोस् भन्ने चाहन्छु म त।

स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो। मान्छे भएर जन्मिएसकेपछि हामी धेरैभन्दा धेरै समय बाँच्नुपर्छ। स्वस्थ भएर, निरोगी भएर बाँच्नुपर्छ। हरेक दिन ‘मर्निङ वाक’ गर्नुहोस्। हरेक वर्ष पूर्ण स्वास्थ्य परीक्षण गर्नुहोस्।

र फेरि भन्छु, मर्निङ वाक गर्नु ठूलो औषधि रहेछ, बिहान अबेरसम्म सुत्दाखेरि आलस्य लागेर मरेको जस्तो अनुभूति हुने रहेछ। तर मर्निङ वाक जाँदाखेरि बाँचेको जस्तो आनन्द आउने रहेछ। यसकारण सबै आफ्नो स्वास्थ्यप्रति जागरुक बनौं।

(चितवनको सौराहामा जारी दोस्रो मेडिकल लिटरेचर मेलाको उद्घाटन र ‘स्वस्थ हुनुको मूल्य’ सत्रमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले राखेको विचारको सम्पादित अंश)