साइकल लेनको माग

चितवन, १५ चैत । मुलुकमा तीव्र गतिमा हुँदै गरेको शहरीकरणसँगै तराईका सबै पालिकाहरुले साइकल लेन निर्माण गर्नुपर्नेमा चितवन तथा नवलपुरका साइकल व्यवसायीहरुले जोड दिएका छन् ।
शहरीकरणसँगै बढेका ठूला सवारी साधनका कारणले वातावरणीय प्रदुषण बढाउँदै गएको उल्लेख गर्दै व्यवसायीहरुले साइकल लेनको माग गरेका हुन् । चितवनको नारायणगढमा आज आयोजित साइकल व्यवसायी संघ चितवन–नवलपुरको साधारणसभाका क्रममा व्यवसायीहरुले ठूला सवारी साधनका कारण दुर्घटना बढ्ने, पेट्रोलीयम पदार्थमा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने कारण यसको रोकथाम र साइकल प्रति आकर्षण बढाउन साइकल लेनको माग गरेका हुन् । कार्यक्रममा पूर्वी नवलपुरको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले मानिसलाई स्वास्थ रहन साइकलले मद्दत गर्ने भएकाले साइकल यात्रीलाई समेत व्यवस्थित गर्ने गरी नगर क्षेत्र भित्र सडक मापदण्ड निर्माण गर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले साइकलको भन्सार निशुल्क हुनुपर्ने माग गरेका थिए । व्यक्तिगत सवारी साधनका रुपमा मात्रै नभएर साइलकले ढुवानी समेत हुने उल्लेख गर्दै साइकलको प्रयोग बढाउन सकेको अवस्थामा शहरमा ध्वनी प्रदुषणमा समेत कमी आउने वक्ताहरुको भनाइ थियो ।