अमेरिकामा नेपालीले नेपालीलाई हेप्दारहेछन् – अध्यक्ष प्रचण्ड

काठमाडौं,१५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा नेपालीले नेपालीलाई हेपेको बाताएका छन् ।श्रीमती सीता दाहालको उपचारपछि अमेरिकाबाट विहीबार स्वदेश फर्किएका प्रचण्डले अमेरिकामा रहेका केही नेपालीहरुको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल फर्किएका प्रचण्डले विमानस्थलको भीआइपी कक्षमा पत्रकारहरुसँग भने, मलाई त झण्डै भूमिगतरुपले बाहिर निकाल्ने कुरा गर्नुभयो । उहाँहरुलाई लागेको रहेछ, केही घटना पो हुन्छ कि रु नेपालीबारे संकेत गर्दै भने, ‘केही मान्छे छन्, जो नेपालको विरोध गर्न पाउँदा, राष्ट्रपति प्रधानमन्त्री, जो कोही नेता गए पनि नकारात्मक दृष्टिकोणले हेर्ने र बदनाम गर्न पाइयो भने खुसी हुने प्रवृत्ति छ ।’ ’

प्रचण्डले अमेरिकामा बसेर आफ्नो विरोध गर्नेहरुलाई विमानस्थलबाटै जवाफ दिए । उनले नेपालमै आएर जनताको मन जितेर मन्त्री, प्रधानमन्त्री हुन आफ्ना आलोचकहरुलाई चुनौतीसमेत दिए ।

प्रचण्डका अनुसार अमेरिकास्थित नेपाली राजदूतसहितको टोलीले केही भएको भए छलेर बाहिर निकाल्ने व्यवस्थासमेत मिलाएका रहेछन् । उनले भने, ‘तर, केही भएन । खाली कन्फ्युजन जस्तो मात्र थियो ।’ प्रचण्डको टोली भ्रमण अवधिभर नेपाली दूताबासमै बसेको थियो । यसक्रममा प्रचण्डले केही भेटघाटहरु पनि गरेका थिए ।

आफ्नो भ्रमण अगाडि नै अमेरिकी सरकारले कुनै अनुसन्धान नगर्नू भनेर सर्कुलर गरेकाले भ्रमणका क्रममा कुनै समस्या नभएको उनले पत्रकारहरुलाई सुनाए ।

लामो समयदेखि अमेरिकामा बस्ने ‘एकथरी नेपाली’ ले आफूलाई अमेरिकाकै रैथानेजस्तो ठान्ने गरेको बताउँदै प्रचण्डले भने, ‘मानौं, अमेरिकामा बसेका हुनाले उनीहरु नै सुपरपावर हुन् जस्तो गरेर यहाँबाट गएका नेपालीलाई हेप्ने रहेछन् ।’