खैरहनी नगरपालिकाको सार्वजनिक सुनुवाई

चितवन, १४ चैत । खैरहनी नगरपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम विहीवार सम्पन्न भएको छ । नगरपालिकाले प्रवाह गरेको सेवा,कार्यसम्पादन प्रति नगरवासीको गुनासा,सल्लाहा,सुझाव संकलन गर्नेउदेश्यले नगरपालिकाले प्रफेक्ट मिडिया सोलुसनको सहयोगमा खैरहनी १० को वडा कार्यालयमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा खैरहनी १० र ११ का स्थानीयले फोहोर मैला व्यवस्थापन र माटो निकासीलाई सरल र सहज वनाउन माग गरे । स्थानीय प्रल्लाह केसी,वलराम तिमल्सीना,कृष्ण बर्देवा,विश्वनाथ चौधरी,नवराज उप्रेती लगायतले आआफ्नो गुनासा राख्दै प्रभावकारी काम गर्न सुझाव समेत दिए । सो अवसरमा खैरहनीका मेयर लालमणी चौधरीले स्थायी ठाउँको अभावका कारण फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेको उल्लेख गर्दै सहयोगका लागि नगरवासीको पनि दायित्व रहेको वताए ।

ढुंगा,गिट्टी,माटो निकासीका सम्वन्धमा प्रदेश सरकारले ऐन वनाएकाले सोही अनुसार चल्नु पर्ने हुँदा स्थानीयस्तरमा केही समस्या देखिएको मेयर चौधरीको भनाई छ । मुख्यमन्त्रीसंगै यस विषयमा धेरै पटक छलफल भएपनि चालु आर्थिक वर्षमा भने संसोधन गर्न नसकिने जानकारी आएको उनले वताए । कार्यक्रममा अन्य सहभागीहरुले योजनाको निरन्तर अनुगमन गर्नु पर्ने,विषादी परिक्षण मेसिनको व्यवस्था गर्नु पर्ने, टोल विकास संस्था मर्जको प्रष्ट पार्नु पर्ने, योजना सम्पन्न हुँदा समेत भुक्तानीमा विलम्व भएको गुनासो गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले कार्यपालिकाले वनाएको निति,नियम अनुसार काम भईरहेको भन्दै कतै कमजोरी भएको पाईएमा सुझाव दिन अनुरोध गरे । प्रफेक्ट मिडिया सोलुसनका संचालक धु्रवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीले पनि वडावासीहरुले राखेकाजिज्ञासालाई सम्वोधन गरेका थिए ।