‘सञ्चार माध्यममा महिलाहरु टिक्नै चुनौति’

चितवन, १४ चैत । सीप र क्षमता भएका पत्रकार महिलाहरुका लागि मिडिया क्षेत्रमा सम्भावना भएपनि काम सिक्न र सञ्चार माध्यममा टिक्न चुनौति रहेको बताइएको छ ।
चितवनको भरतपुरमा आज आयोजित ‘मिडियामा महिला सहभागिता, चुनौति र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सञ्चार माध्यममा क्षमता भएका पत्रकार महिलाहरुका लागि ठूलो सम्भावना रहेको बताएका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्यालले महिलाहरुका लागि मिडियामा सम्भावना भएपनि घरपरिवार र आफन्तका कारण मिडियामा टिक्न चुनौति रहेको बताइन् । सञ्चार माध्यममा काम गर्ने पत्रकार महिलाहरुलाई विवाहपछि पेसा परिवर्तन गर्नुपर्ने बाध्यता रहेको समेत अर्यालको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले मिडिया क्षेत्रमा महिलाहरुको प्रशस्त सम्भावना भएपनि उनीहरु आफ्नै कारणबाट पछि परेका बताए । पत्रकार महिलाहरुमा सिक्ने चाहना र सहकर्मीहरुले सहयोग गरेको अवस्थामा मिडिया सम्भावनाको क्षेत्र भएको गिरीको भनाइ छ । आफूमा सीप र क्षमताको विकास गर्दै अगाडि बढेको खण्डमा पत्रकार महिलाहरु सञ्चार क्षेत्रको माथिल्लो ओहोदामा पुग्न सक्ने गिरीले बताए ।
क्रियाशील पत्रकार महिला जिल्ला शाखा चितवनको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ चिनवनका शाखाका अध्यक्ष राधेश्याम खतिवडा, उपाध्यक्ष शान्ता अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा क्रियाशील पत्रकार महिला जिल्ला शाखा चितवनकी अध्यक्ष प्रमिता ढकालले ‘मिडियामा महिला सहभागिता, चुनौति र सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । क्रियाशील पत्रकार महिला जिल्ला शाखा चितवनकी अध्यक्ष प्रमिता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शोभा पुडासैनीले शुभकामना मन्तव्य राखेकी थिइन् ।