‘प्रजनन योग्य उमेरका व्यक्तिको एचआईभी परीक्षण गराउनुपर्छ’

चितवन, १३ चैत । हरेक प्रजनन योग्य उमेरका व्यक्तिहरुको एचआईभी परीक्षण अनिवार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
चितवनको भरतपुरमा बुधबार आयोजना गरिएको कार्यक्रममा प्रजनन योग्य उमेरका व्यक्तिहरु एचआईभी सङ्क्रमणको उच्च जोखिममा हुने भएकाले उनीहरुको एचआईभी परीक्षण गर्नुपर्ने बताइएको हो । न्यु वे फाउन्डेशनले आयोजना गरेको सरोकारवालाको बैठकमा स्वास्थ्य कार्यालय चितवनका स्वास्थ्य अधिकृत अनुप अधिकारीले लागु औषध दुर्व्यसनी सहित सबै प्रजनन योग्य उमेरका व्यक्ति एचआईभीको जोखिममा हुने भएकाले सचेतना अपनाउन अनिवार्य रुपमा एचआईभी परीक्षण गर्नुपर्नेमा जोड दिए ।
असुरक्षित यौन सम्पर्क तथा सिरिन्जको प्रयोगले मात्रै एचआईभी नसर्ने उल्लेख गर्दै अधिकारीले सावधानी अपनाउँदा अपनाउँदै समेत एचआईभीको जोखिम रहने बताए । न्यू वे फाउन्डेशनका कार्यक्रम संयोजक भेलन गुरुङले आफूहरुले लागु औषध प्रयोगकर्ताहरुको एचआईभी परीक्षण गरिरहेकाले नेपाल सरकारको कार्यक्रम अन्तर्गत उनीहरुलाई सिरिन्ज वितरणको काम पनि जारी राखेको बताए । संक्रमणको जोखिम न्यूनिकरणका लागि दैनिक रुपमा एक सय ५० भन्दा बढी लागु औषध दुर्व्यसनीहरुलाई निडिल र सिरिन्ज वितरण गर्ने गरिएको उल्लेख गर्दै गुरुङले सन् २०१८ अप्रिलदेखि सन् २०१९ फेब्रुअरीसम्म ८० हजार पाँच सय ७३ सिरिन्ज तथा २५ हजार ६ सय ११ कण्डम वितरण गरेको बताए ।
लागु औषध प्रयोग गर्ने व्यक्तिहरुको संक्रमण अन्य व्यक्तिमा सर्न नदिनका लागि उनीहरुलाई निडिल र सिरिन्ज वितरण हुँदै आएको उल्लेख गर्दै गुरुङले उनीहरुलाई मौखिम प्रतिस्थापन पद्धति (ओएसटी)का लागि अन्य संस्थाहरुमा समेत पठाउने गरेको बताए । न्यू वे फाउन्डेशनले ‘निडिल सिरिन्ज एक्स्चेन्ज कार्यक्रम’ मार्फत लागु औषध प्रयोगकर्ताहरुलाई निशुल्क रुपमा निडिल सिरिन्ज वितरण गर्दै आएको हो । रिकोभरिङ नेपाल र सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सुरु गरिएको कार्यक्रम अन्तर्गत विद्यार्थी तथा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गर्ने तयारी भएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।