तीन सय ५१ कैदीबन्दीको आँखा परीक्षण

चितवन, १३ चैत । नेपाल नेत्रज्योति संघको ४१औँ स्थापना दिवस तथा भरतपुर आँखा अस्पतालको ३१औँ स्थापना दिवसको अवसर पारेर कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीहरुको आँखा परीक्षण गरिएको छ ।
बुधबार आयोजित सो निशुल्क आँखा परीक्षण शिविरमा तीन सय ५१ जना कैदीबन्दीको आँखा परीक्षण गरिएको हो । नेपाल नेत्रज्योति संघ चितवन, हिरालाल सन्तुदेवि प्रधान नेत्र विज्ञान अध्ययन संस्थान र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा कारागार कार्यालयमा नै गरिएको आँखा परीक्षणमा ६ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेका अनुसार मोतियाबिन्दुका बिरामी भेटिएका कैदीबन्दीको अस्पतालमा निशुल्क रुपमा शल्यक्रिया गरिनेछ ।
सो शिविरबाट एक सय तीन जना कैदीबन्दीले चस्मा लगाउनेपर्ने भेटिएको घिमिरेले बताए । शिविरमा कैदीबन्दीको निशुल्क आँखा परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको थियो । अघिल्लो वर्षहरुमा आँखा अस्पतालले कारागारमा सामान्य रुपमा आँखा परीक्षण गर्ने गरेकोमा यस वर्ष रिफ्ल्याक्टर सेट तथा स्लीट ल्याम्प इक्ज्यामिनेशनको मद्दतले आँखा परीक्षण गरिएको थियो ।
भरतपुर आँखा अस्पतालकी कर्निया रोग विशेषज्ञ डाक्टर पुष्ष गिरीको नेतृत्वमा ११ जनाको टोलीले आँखा परीक्षण गरेको घिमिरेले जानकारी दिए ।