४१औँ नेत्रज्योति दिवसमा प्रभात फेरि

चितवन, १३ चैत । नेपाल नेत्र ज्योति संघ चितवन शाखाले स्थापनाको ४१औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा संघले बुधबार चितवनको भरतपुरमा प्रभात फेरि गरेको छ ।

भरतपुरको चौबिसकोठीबाट सुरु भएको प्रभातफेरि अस्पताल रोड, मालपात चोक, बाइपास रोड हुँदै भरतपुर आँखा अस्पतालमा पुगेर सकिएको थियो । सो प्रभात फेरि नेपाल नेत्र ज्योति संघ चितवन शाखाका कार्यसमिति, भरतपुर आँखा अस्पतालका कर्मचारी, त्यहाँ अध्ययनरत विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संघले हरेक वर्ष चैत १३ गतेलाई स्थापना दिवसका साथै नेत्र ज्योति दिवसका रुपमा मनाउँदै आएको छ । ०३५ सालमा स्थापना भएको संघ नेपालमा अन्धोपन न्यूनीकरणमा क्रियाशील संस्था हो ।

आँखा स्वास्थ्य सेवाको सहज तथा सुलभ उपलब्धताका लागि संघले मुलुकका ३७ जिल्लामा १८ आँखा अस्पताल र ८० आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ । संघ अन्तर्गत चितवनमा सञ्चालित आँखा अस्पताल र यसका सेवा केन्द्रबाट वर्षेनी साढे एक लाख भन्दा बढी आँखा सम्बन्धी बिरामीलाई बहिरङ्ग सेवा र करिब सात हजारको हाराहारीमा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । संघले आँखा उपचारमा दक्ष जनशक्ति उत्पादनका लागि सिटीइभिटीबाट नेत्र सहायक तथा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको सम्बन्धमा नेत्र विशेषज्ञ तथा दृष्टि विशेषज्ञका शैक्षिक कार्यक्रमको सञ्चालन गर्दै आएको छ ।