भरतपुर महानगर प्रमुख दाहालद्वारा एसईई परीक्षाको अनुगमन

भरतपुर ,१३ चैत । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गर्नुभएको छ ।
प्रमुख दाहालले महानगरका महानगरका ३ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गर्नुभएको हो ।

उहाँले चितवन मावि परीक्षा केन्द्र, बालकुमारी कन्या मावि र बालकुमारी मावि परीक्षा केन्द्रमा पुगेर अनुगमन गर्नुभएको थियो । उहाँसँगै महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगर शैक्षिक महाशाखाका बाबुराम दवाडी, महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरूणपीडित भण्डारीलगायतको टोलीले परीक्षाको अनुगमन गरेको थियो ।
अनुगमनपछि महानगर प्रमुख दाहालले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीहरुले पनि ढुक्कसँग परीक्षा दिइरहेका पाइयो ।’ उहाँले अब हुने एसईईको बाँकी परीक्षाहरुलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।
प्रमुख दाहालले विद्यार्थीहरुलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गर्नुभएको थियो । आज विद्यार्थीहरुले अनिवार्य गणितको परीक्षा दिएका थिए ।